आगजनी तथा तोडफोडबाट हराएका सामाग्रीहरु फिर्ता गर्न गैंडाकोट नगरपालिकाको अनुरोध

गैंडाकोट । जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडबाट हराएका सामाग्रीहरु फिर्ता गर्नका लागी गैंडाकोट नगरपालिकाले अनुरोध गरेको छ । गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले शनिबार एक विज्ञप्ति जारी गर्दै भदौ २४ गते भएको घटनामा नगरपालिकासहितका केही वडा कार्यालयका भवन तथा सामानहरु नष्ट भएको र केही सामाग्रीहरु हराएकोले आफुले लगेको सामान फिर्ता गर्न आग्रह गर्नुभएको छ ।
नगरपालिकाले स्थानीय प्रतिनिधि, नगर प्रहरी, सामाजिक सञ्जाल, सञ्चारमाध्यम तथा सिसि टिभी फुटेजका आधारमा घटनामा सहभागी व्यक्तिहरूले लगेका सामग्री पहिचानको कार्य भइरहेको हुँदा आफूसँग भएको सामाग्री स्वेच्छाले फिर्ता गर्न अनुरोध गरेको छ।
नगरपालिकाले सार्वजनिक सम्पत्तिको सुरक्षा सबैको जिम्मेवारी भएको उल्लेख गर्दै कुनै पनि नागरिकले हराएका सामान आफ्नो साथमा भएमा तुरुन्तै सम्बन्धित कार्यालयमा बुझाउन वा नगर प्रहरी प्रमुख दिपक अधिकारीलाई ९७६८३२७९८७ मा सम्पर्क गर्न सकिने जनाएको छ। साथै नगरपालिकाले त्यस्ता व्यक्तिहरूको सहजताका लागि सामानहरू व्यक्तिले स्वयं उपस्थित भई वा अरू व्यक्तिको माध्यमबाट समेत फिर्ता गर्न सकिने जनाएको छ। यदि सामान फिर्ता नगरेमा कानूनी कारबाही गरिने चेतावनीसमेत नगरपालिकाले दिइएको छ।