रत्ननगरका मेयर सापकोटाद्वारा तलब भत्ता पुनर्निमाणमा लगानी गर्ने घोषणा

रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले बाँकी रहेको कार्याकालको मासिक सेवा सुविधा वापतको रकम पुनर्निमाणमा लगानी गर्ने घोषणा गर्नुभएको छ ।
शनिबार सम्पन्न १७२औं कार्यपालिका बैठकमा बोल्दै उहाँले मेयरको हैसियतमा आफुले पाउने तलब र भत्ता वापतको रकम नगरपालिका र वडा कार्यालयको पुनर्निमाणमा लगाउने घोषणा गर्नुभएको हो । नगरको विकास र नगरबासीको हितमा काम गर्ने आफ्नो इच्छाशक्तिबाट आफु विचल्लित नरहेको भन्दै उहाँले नयाँ उर्जा र हिम्मतका साथ नगरको चौतर्फी विकासमा क्रियाशिल रहने बताउनुभयो ।
उहाँले स्थानीय सरकारलाई पुरानै अवस्थामा फर्काउने गरी काममा जुट्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह समेत गर्नुभएको छ । जेन्जी आन्दोलनका क्रममा नगरपालिका र वडा कार्यालयमा तोडफोड र आगजनी भएपछि बसेको कार्यपालिका बैठकले विभिन्न निर्णय गरेको छ । आगजनीबाट भएको क्षतिको विवरण संकलन र सेवा सञ्चालनको लागि आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ । बैठकले तोडफोड र आगजनीको घटनप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा घाइतेहरुको शीघ्रस्वास्थ्य लाभको कामना तथा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली प्रकट गरेको छ ।
नगरपालिका पूर्णरुपमा ध्वस्त रहेको बेला तत्काल कार्यालय सञ्चालन गर्न सक्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ । नगरपालिका र वडा कार्यालयमा आगजनीबाट भएको क्षतिको विवरण संकलन गर्ने र सकेसम्म छिट्टै कार्यालय सञ्चालन गर्ने गरी उपकरण र सामग्रीहरुको व्यवस्थापन गर्ने, जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालय सरसफाई गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिनुभयो ।
कार्यपालिका बैठकमा जेन्जी आन्दोलनमा सहभागी भएर नगरपालिका र वडा कार्यालयमा आगजनी र तोडफोडमा केही कर्मचारीहरु समेत संलग्न रहेको भन्दै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले त्यस्ता कर्मचारीको पहिचान गरी तत्काल बरखास्त गर्न माग गरेका छन् । कार्यपालिका बैठकले नगरपालिका नै ध्वस्त हुने गरी गरिएको आगजनी र तोडफोडको घटना केलाउदै स्थानीय कार्यालय सञ्चालन कहिलेबाट गर्ने भन्ने निर्णय अर्को कार्यपालिका बैठकले गर्ने निर्णय गरेको छ ।
जेन्जी आन्दोलनका कारण रत्ननगर नगरपालिकाका दुईवटै प्रशासनिक भवन तथा १६ वटै वडा कार्यालयमा तोडफोड र आगजनी भएको छ । आगजनीबाट नगरपालिकाका सबै सवारी साधन र महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् ।