चितवनमा महिला उद्यमी मेलाको तेस्रो संस्करण हुँदै

चितवन । महिला उद्यमशिलता विकासमार्फत महिला सशक्तिकरण भन्ने मूल नाराका साथ चितवन उद्योग वाणिज्य संघले “महिला उद्यमी मेला–२०८२” आायोजना गर्ने भएको छ । भदौ १९ देखि २३ गतेसम्म उद्योग वाणिज्य संघ परिसरमै मेला आयोजना गर्ने तयारी गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
कार्यक्रम संयोजक अस्मिता तिमल्सिना रिजालका अनुसार करिब ३० वटा स्टल रहने मेलामा हस्तकला, लघु घरेलु उत्पादन तथा कृषि क्षेत्रसँग सम्बन्धित वस्तुहरुको प्रदर्शनी गरिने छ । एकल महिला, दुर्गम क्षेत्रका महिला तथा स्टार्टअप उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले पाँच दिने मेला अवलोकन गर्न कम्तीमा पनि १५ हजार दर्शकको उपस्थिति रहने दाबी गरेका छन् । मेलाबाट करिब ३० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार महिला उद्यमीका उत्पादनलाई प्रचार–प्रसार गर्ने, स्वरोजगार र आत्मनिर्भरता बढाउने, नयाँ व्यवसायिक सम्पर्क तथा साझेदारी कायम गर्ने अवसर मेलाबाट प्राप्त हुनेछ । मेलाको क्रममा उद्यमशिलता सम्बन्धी गोष्ठी तथा राष्ट्रिय योग्यता प्रणाली कार्यक्रमको सहकार्यमा प्यानल डिस्कसन पनि आयोजना गरिनेछ ।
आयोजकले महिला आर्थिक सबलीकरणसँगै सामाजिक सशक्तिकरण र व्यवसायिक क्षमतामा टेवा पुग्ने विश्वास लिएको छ ।