चितवनका अस्पतालमा ८९ जनामा ‘स्क्रब टाइफस’ सङ्क्रमण 

२०८२ भदौ १७ मंगलबार ११:५८:०० मा प्रकाशित

भरतपुर । चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता अस्पतालमा आएका बिरामीमध्ये एक हजार ८०१ जनाको नमुना परीक्षणका क्रममा उनीहरुमा यो रोगको सङ्क्रमण देखिएको हो ।

 

सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाका-३ जना, खैरहनी नगरपालिकाका १७, माडी नगरपालिकाका एक जनामा, त्ननगर नगरपालिकाका २४, राप्ती नगरपालिकाका सात, कालिका नगरपालिकाका १२ र इच्छाकामनाका तीन जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये २२ जना जिल्ला बाहिरका रहेका छन् ।

 

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुखाई र पखालाले सताउने, श्वास फेर्न समस्या हुने, टाउको, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्तो लक्षण देखिने गर्दछ ।

 

स्क्रब टाइफसबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्नेलगायत उपाय अपनाउनुपर्ने किट नियन्त्रक केसीले बताउनुभयो । रासस