७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

२०८२ भदौ १२ बिहीबार १३:०६:०० मा प्रकाशित

सरकारले फेसबुक, टिकटक, एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जाल सञ्चालकहरूलाई नेपालमा दर्ता हुन ७ दिनको अन्तिम म्याद (अल्टिमेटम) दिएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको समयभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नहुने सामाजिक सञ्जाललाई नेपालभित्र क्रमशः बन्द (निष्क्रिय) गर्दै जाने निर्णय गरेको हो । 

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सञ्चालकहरूलाई जिम्मेवार तथा जवाफदेही बनाउन यो निर्णय लिइएको हो । तोकिएको अवधिमा दर्ता प्रक्रियामा नआउने वा सम्पर्क नगर्ने प्लेटफर्महरूलाई नेपाल दूरसञ्चार प्राधिकरणमार्फत बन्द गर्न निर्देशन दिइनेछ । यद्यपि, सरकारले दर्ता प्रक्रियामा आएलगत्तै बन्द गरिएका सञ्जालहरूलाई पुनः सञ्चालनमा ल्याइने निर्णय पनि गरेको छ ।