गैंडाकोटमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

२०८२ भदौ ८ आइतबार १९:१०:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट नगरपालिका–२ नारायणी पुल (पुर्व–पश्चिम राजमार्ग) मा आइतबार साँझ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आइतबार साँझ ५ः४० बजे गैंडाकोटबाट नारायणगढतर्फ जाँदै गरेको अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ना१क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना४३प ८७ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गैंडाकोट–४ निवासी २३ वर्षीय मोटरसाइकल चालक मुनाल दाहाललाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएकोमा साँझ ५ः४८ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, मोटरसाइकलमा पछाडि सवार गैंडाकोट–४ कै २७ वर्षीय प्रतिक घिमिरे सामान्य घाइते भई उपचाररत छन् । दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक सिन्धुली गोलन्जोर गाउँपालिका–९ निवासी ३५ वर्षीय तुक्त बहादुर आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।