स्कटल्याण्ड निवासी चालिसेद्वारा गैँडाकोटको अपाङ्ग जीवन विकास संस्थालाई खाद्यान्न सहयोग

नवलपुर । नवलपुरको देवचुली नगरपालिका घर भई हाल युरोपको स्कटल्याण्ड बस्दै आउनुभएका भरत चालिसेले गैँडाकोट-२ मा रहेको अपाङ्ग जीवन विकास संस्था (आश्रम)लाई खाद्यान्न सहयोग गर्नुभएको छ ।
चालिसेले आफ्नो जन्मदिनको अवसर पारेर खाद्यान्न सहयोग गर्नुभएको हो । आश्रममा खाद्यान्न अभाव रहेको बुझेपछि चालिसे र उहाँकी पत्नी निर्मला चालिसेले चामल, दाल, आलु, नुन, सोयाविनसहितका खाद्यान्नहरु सहयोग गर्नुभएको हो ।
यस आश्रम दाताहरुकै भरमा सञ्चालन हुँदै आएको आश्रमका सञ्चालक गणेश सापकोटाले बताउनुभयो । जन्मोत्सव, वर्षगाँठलगायतका विभिन्न शुभकार्यमा दाताहरुले गर्ने सहयोगकै भरमा आश्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ । सापकोटाले कर्मचारीलाई पारिश्रमिक तथा आश्रितहरुलाई खाना र स्वास्थ्योपचारका लागि मासिक रु दुई लाख भन्दा बढी खर्च हुने गरेको बताउनुभयो ।
दाताहरुबाट नगद तथा खाद्यान्नलगायतका जिन्सी सामानहरु सहयोग हुँदै आएको सापकोटाले बताउनुभयो । हाल आश्रममा देशका विभिन्न स्थानबाट उद्धार गरेर ल्याइएका १९ जना असहाय तथा अपाङ्गहरु आश्रित रहेका छन् । जसमध्ये तीन जना महिला तथा दुई जना बालकहरु छन् ।
आश्रममा संरक्षित व्यक्तिहरुमा मानसिक समस्या भएका, दृष्टिविहीन, बोल्न नसक्ने, खुट्टा तथा अन्य अपाङ्गता भएका व्यक्तिहरु रहेका सापकोटाको भनाइ छ । सडकमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिहरुलाई उद्धार गरी उनीहरुलाई आश्रमा ल्याएर आश्रय दिइँदै आएको सापकोटाले बताउनुभयो । आश्रममा आश्रित व्यक्तिलाई आवश्यक पर्ने लुगाफाटा, खाद्यान्नसहितका वस्तुहरु सहयोग गरिदिन उहाँले आग्रह गर्नुभयो । आश्रममा गएर रु पाँच हजार शुल्क सहयोग गरेमा सहयोग गर्ने व्यक्तिको नाममा एक छाकको खाना खुवाइने उहाँले बताउनुभयो ।