‘बा’ लाई प्रश्न

बालाई प्रश्न
भन्नुहोस् न बा,
तपाईंको मुटु के ले बनेको हुन्छ?
मांसपेशीले?
नशाहरूले?
कि आँसुहरूले,
व्यथाहरूले?
कसरी धान्नुहुन्छ
यति धेरै पीडाहरू,
जीवनका अफ्ठ्याराहरू
कसरी सम्हाल्नुहुन्छ?
तपाईंको मुटुको बनावट
र मेरो मुटुको बनावट एउटै होइन र?
भन्नुहोस् न बा,
तपाईंले आँसु कहाँ लुकाउनुहुन्छ?
बेदनाको पोको कहाँ फुकाउनुहुन्छ?
किन सबैको अगाडि रुन सक्नुहुन्न
किन चिच्याउन सक्नुहुन्न?
मेरो बिदाइमा फलाकी फलाकी रुनुभो आमा,
तपाईं नरोईकनै मलाई अन्माउनुभो
कसरी सबैलाई सम्झाउनुभो?
तपाईंको र आमाको मन एउटै होइन र?
भन्नुहोस् न बा,
अन्तिमपटक कहिले मन दुखाउनुभो?
तपाईंलाई परेको बज्रपात कुन कुनामा लुकाउनुभो?कसैले बचन लगाउँदा किन मौन बस्नुहुन्छ?
किन हुँदैनन् प्रतिकारका शब्द?
किन दुख्दैन तपाईंको मन?
भन्नुहोस् न बा, तपाईंको मुटु के ले बनेको हुन्छ?
जस्तै शोक परे पनि,
मजबुत खम्बाजस्तै बनेर
सबैलाई सम्हाल्न सक्ने
अदम्य साहस कहाँबाट, कसरी आउँछ?
भन्नुहोस् न बा
के म पनि तपाईंजस्तै साहसी बन्न सकूँला?
के म त्यसरी नै कर्तव्यपथमा हिँड्न सकूँला?
मेनका चापाँगाईं