एमाले गैंडाकोट-१३ का अध्यक्ष ऋषि गौतम जिम्मेवारीमुक्त

गैंडाकोट । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गैंडाकोट नगर कमिटीले वडा नं. १३ का कमिटी अध्यक्ष ऋषि गौतमलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ।
नगर कमिटी सचिवालय बैठकले नियमित बैठक नगरेको, संगठनप्रति निष्क्रिय रहेको, पार्टीका निर्णय तथा मूल्य-मान्यताप्रति प्रतिबद्धता नदेखाएको लगायत कारण देखाउँदै अध्यक्ष गौतमलाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी एमाले गैंडाकोट नगर कमिटीका अध्यक्ष कृष्ण कँडेलले जानकारी दिनुभयो ।
बैठकले पार्टी संगठनमा गम्भीर क्षति पु¥याउने गतिविधि स्वीकार्न नसकिने भन्दै गौतमलाई अध्यक्षसहित सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्ति मार्फत जानकारी दिएको छ । नगर अध्यक्ष कृष्ण कंडेलले जारी गरेको विज्ञप्तिमा पार्टी अनुशासन, कार्यशैली र संगठनात्मक मूल्य-मान्यतालाई प्राथमिकतामा राख्दै अगाडि बढ्न सबै सदस्यलाई आह्वान गरिएको छ ।
पत्रकार सम्मेलनमा पार्टी प्रदेश कमिटी सदस्य एवं गैंडाकोट इन्चार्ज छत्रराज पौडेल, जिल्ला कमिटी सचिवालय सदस्य ज्ञानहरी पौडेल, जिल्ला कमिटी सदस्य गिरिराज उपाध्याय, जिल्ला कमिटी सदस्य दिनेशराज न्यौपाने, जिल्ला प्रचार प्रसार विभागका सचिव हिमालदेव पंगेनी, नगर सचिव राजु भुसाल लगायतको उपस्थिति रहेको थियो।