२२ औँ वर्षमा विजय एफएम : आवाजविहीनको बलियो आवाज

२०८२ भदौ ५ बिहीबार १७:२६:०० मा प्रकाशित

समुदायको आवाज बोलिदिने आवाज विजय एफ एम, सत्य र तथ्यलाई बोकेर हिड्ने आवाज बनेको छ । हावामा उडिरहेका सबै खबरहरू सत्य हुँदैनन् । कतिपय असत्य र भ्रामक समाचारहरूले बजार ओगटेर भ्रम सिर्जना गर्ने, आतंक फैलाउने अवस्था बनेको छ ।  त्यस्तो बेला सामुदायिक रेडियो विजय एफएम १०१.६ ले आफ्नो २२ औँ वर्षमा प्रवेश गरेको खबर हामीजस्ता रेडियोप्रेमी स्रोताहरूका लागि खुशीको विषय बनेको छ ।

प्रविधिको विकाससँगै संसारको जुनसुकै कुनाबाट पढ्न, सुन्न र देख्न सकिने जस्तै अब विजय एफएम पनि फेसबुक र अनलाइनमा सहजै सुन्न र हेर्न सकिन्छ । आवाजविहीनहरूको आवाज बनेर भुइँमान्छेका मुद्दाहरूलाई प्राथमिकताको केन्द्रबिन्दुमा राख्दै यो रेडियो निरन्तर लागिरहेको छ ।

६०/७० को दशकतिर आफ्ना मनका भावना चिठीमार्फत पत्रमञ्जुसामा हालेर पठाइने र ती चिठी रेडियो प्रस्तोता मार्फत नामसहित प्रसारित हुँदा पाउने आनन्द अझै मानसपटलमा ताजा छन् । रेडियोका धुन र आवाजहरूले समाजलाई केही न केही सन्देश दिइरहेकाले कार्यक्रम प्रस्तोताले अध्ययन, अनुसन्धान र विचारसहित आफ्ना प्रस्तुति दिनुपर्छ भन्ने अपेक्षा हुन्छ । यसमा विजय एफएमले सचेत र जिम्मेवार भूमिका निर्वाह गरेको अनुभूति स्रोताहरूले अवश्य गरेका छन् ।

देशको बदलिँदो राजनीतिक परिवेश, भ्रष्टाचार, गुन्डागर्दी, विकृति र विसङ्गतीका कारण कक्षा १२ पछि जसरी पनि विदेशिनुपर्ने मानसिकता फैलिरहेको छ । त्यस्तो निराशाजनक सोच चिर्दै, प्रत्येक नागरिकलाई जिम्मेवार बनाउँदै, सकारात्मक ऊर्जा दिने समाचार र सन्देशहरू प्रवर्द्धन गर्दै, भाषा, साहित्य, कला र संस्कृतिको सम्बर्द्धन गर्दै, निष्पक्ष रूपमा प्रतिभा, योग्यता र क्षमताको सम्मान गर्दै, शिक्षाको ज्योति जगाउँदै, प्रत्येक मनमा प्रेम र सद्भावनाको सुवास भर्दै, स्थानीय व्यापार–व्यवसायलाई प्रवर्द्धन गर्दै र वातावरणको संरक्षण गर्दै विजय एफएम निरन्तर अघि बढिरहेको छ ।

यहीँ देशमै पसिना बगाएर विकासको मूल फुटाउन सकिन्छ भन्ने शङ्ख घोष गर्दै अगाडि बढिरहेको सामुदायिक रेडियो विजय एफएमलाई निरन्तर अविरल यात्राको शुभकामना तथा हार्दिक बधाई । 

भानु सापकोटा कालिका नमुना माविमा अध्यापन गराउने शिक्षक हुनुहुन्छ । विजय एफएमको नियमित श्रोता तथा शुभचिन्तक हुनुहुनछ ।