गैंडाकोटमा पठन संस्कृति काव्य साँझ सम्पन्न, ‘यात्राको सुवास’ काव्य विमोचन

२०८२ भदौ १ आइतबार १३:५३:०० मा प्रकाशित

गैंडाकोट । विजय सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार काव्य साँझ सम्पन्न भएको छ। पठन संस्कृति अभियानअन्तर्गत १६औँ श्रृङ्खलामा आयोजित कार्यक्रममा पठन संस्कृतिका विविध प्रस्तुति भएको छ।

कार्यक्रमका प्रमुख आकर्षणका रूपमा गैंडाकोट प्रज्ञा प्रतिष्ठानका कुलपति वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीद्वारा लिखित ‘यात्राको सुवास’ भ्रमण काव्य विमोचन गरिएको थियो। प्रकाशक विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले पुस्तक यात्रालाई काव्यिक रूपमा प्रस्तुत गरिएको बताउँदै यसमा समाजको चेतना, शिक्षा र युवाहरूको भूमिकासहित विभिन्न पक्ष समेटिएको जानकारी दिनुभयो ।  साथै, उहाँले लेखक विनोदीको बहुआयामिक साहित्यिक छविबारे समेत प्रकाश पार्नुभयो ।

 

वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले २०५६ साल फागुन १४ देखि २६ गतेसम्मको यात्रालाई पुस्तकमा प्रस्तुत गरिएको बताउँदै यसमा समाजका विविध पाटाहरू समेटिएको जानकारी दिनुभयो।

गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले पठन संस्कृति अभियान गैंडाकोटमा मात्र सीमित नभई अन्य जिल्लाहरूमा समेत फैलिएकोमा खुशी व्यक्त गर्दै पढ्ने बानीको विकास अहिलेको आवश्यकता भएको बताउनुभयो  नगरपालिकाले यस अभियानका लागि पुस्तक सहयोग गर्दै आएको समेत उहाँले जानकारी दिनुभयो। यस्तै, उपप्रमुख शान्ति कोइरालाले पढ्ने बानीले मानिसलाई सचेत बनाउने भएकाले अभियानलाई अझै विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।

 

साहित्यकार डा.नवराज लम्सालले विवेकद्वारा निर्देशित पुस्तक पढ्नुपर्नेमा जोड दिनुभयो। विचारद्वारा निर्देशित किताबले मात्र विचारलाई सम्मान गर्ने तर विवेकले चेतनाको तहमा पु¥याउने भएकाले पढ्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा उपस्थित वक्ताहरूले आफूले अध्ययन गरेका पुस्तकबारे धारणा राख्दै आफ्ना अनुभव र रचनाहरू प्रस्तुत गर्नुभयो । डा. जीवन क्षेत्रीको ‘नुन तेल’ पुस्तकको बारेमा धुर्व पौडेलले पुस्तक ग्रामीण आर्थिक–सामाजिक परिवेश, गाउँमा परेको प्रभाव र प्रकृतिमाथिको दोहनबारे बोलेको उल्लेख गर्दै सबैका लागि पढ्न योग्य पुस्तक रहेको बताउनुभयो। विष्णुपन्थी (बिनु)ले ‘ज्वाईलाई प्रणयपत्र’ कविता वाचन गर्नुभयो । सुदिप चापागाईंले हरिवंश राय बच्चनको ‘मधुशाला’ माथि विमर्श गर्दै मानिस सधैं खुसी रहनुपर्ने सन्देश दिएको बताउनुभयो।

 

विद्या निर्दोष पहाडीले गजल, मुना धनञ्जयले ‘मेराबा’, योगेन्द्रप्रसाद ढुङ्गानाले आशावादी कविता प्रस्तुत गर्नुभयो। पठन संस्कृति अभियान कावसोती संयोजक पवन भुर्तेलले अभियान सुरु भएदेखि गरेका कार्यहरूबारे जानकारी दिनुभयो । प्रेम कंडेलले गजल वाचन गर्नुभयो भने रोहित भण्डारीले पत्रकारिता र पठन संस्कृतिलाई जोड्दै सकारात्मक सोचले सम्भव छ भन्ने विचार राख्नुभयो । उहाँले समाजमा कामको सम्मान गर्ने संस्कृतिको कमीले विकास रोकिएको बताउँदै केही पुस्तक अभियानलाई हस्तान्तरण गर्नुभयो ।

यस्तै, उदिप प्रकाश सिग्देलले ‘अगाडि बढिरहँदा’ कविता वाचन गर्नुभयो। शंकर आचार्यले बालबालिकाको सोच र मानसिकता सुधार्न अभिभावक र बौद्धिक वर्गले काम गर्नुपर्ने धारणा राख्नुभयो। परिवेश मुन्छेले ‘क्रान्तिको स्वीकृति’ कविता वाचन गर्नुभयो भने इन्द्रराज पौडेलले ‘टिपेर लक्ष्यकालको कविता’ प्रस्तुत गर्नु भयो। रोशन पुनले ‘आमा’ शीर्षकको कविता, अर्जुन बाबु दाहालले आफ्नो पुस्तक ‘आफैंलाई नमार हिड्न बाँकी छन् बाटाहरू’ बाट कविता वाचन गर्नुभयो र अभियानलाई पुस्तक हस्तान्तरण गर्नुभयो । समीक्षक उदय अधिकारीले डा. शंकर गैरेको ‘सुद पुत्र उपन्यासबारे चर्चा गर्दै यसमा कर्णको जिवनको द्वन्द्व मात्र नभई प्रेमको पाटोलाई समेत उजागर गरिएको बताउनुभयो। यस्तै, ‘चिसो बाकस’ कविता संग्रहका लेखक एकदेव रिमालले पनि कविता प्रस्तुत गर्दै आफ्नो पुस्तक अभियानलाई हस्तान्तरण गर्नुभयो । सरस्वती तिमिल्सिना, पुरु लम्साल लगायतले कविता र गजल वाचन गर्नुभयो ।

 

‘यात्राको सुवास’ पुस्तकको बिक्रीबाट आएको रकम वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको स्वास्थ्य उपचारमा खर्च गरिने जनाइएको छ। पुस्तकको प्रकाशक विजय विकास स्रोत केन्द्र रहेको छ।

विजय सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन सापकोटाले सामुदायिक रेडियो विजय एफएमको आयोजनामा भएको यो कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकासमा टेवा पुर्‍याएको बताउनुभयो । गत वैशाख १५ गतेबाट सुरु भएको पठन संस्कृति अभियान शनिबार १६औँ श्रृङ्खलामा पुगेको हो।
कार्यक्रममा आर्थिक सहयोग गैंडाकोट नगरपालिकाको रहेको थियो।