गण्डकी साकोस गैंडाकोटमा बृहत तीज गीत प्रतियोगिता, शिलान्यास टोल महिला समूह प्रथम

गैंडाकोट । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित तीज गीत प्रतियोगितामा गैंडाकोट–२ स्थित शिलान्यास टोल महिला समूहले प्रथम स्थान हासिल गरेको छ।
प्रतियोगितामा गैंडाकोट–१ को प्रगति टोल महिला समूह दोस्रो, गैंडाकोट–५ को भृकुटी चोक महिला समूह तेस्रो र गैंडाकोट–२ को जनजागृति महिला समूहले सान्त्वना स्थान हासिल गरेको छ ।
नारीहरूको महान पर्व हरितालिका तीज–२०८२ को अवसरमा आयोजित प्रतियोगितामा गैंडाकोट नगरपालिकाका १९ महिला समूहको सहभागिता रहेको थियो। प्रतियोगिताको मूल्याङ्कन अमर बिरही गुरुङ, शारतादेवी शर्मा र अजिता अधिकारी पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालाले महिलाहरूले तीज गीतमार्फत आफ्नो क्षमता प्रस्तुत गरेको र तीज केवल मनोरञ्जन मात्र नभई महिला सशक्तिकरणको पर्व पनि भएको बताउनुभयो । उहाँले महिलालाई घरभित्र सीमित नभई आर्थिक रूपमा आत्मनिर्भर बन्न सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष गोविन्द सुवेदीले सहकारी सचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र अपेक्षाभन्दा बढी महिलाको सहभागिताले उत्साह बढाएको बताउनुभयो । कार्यक्रममा सहकारीका विभिन्न तालिममार्फत महिलाले उत्पादन गरेका झोला, चप्पललगायत सामग्रीको स्टल राखी बिक्री गरिएको थियो।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, पूर्व अध्यक्ष पोषणराज सुवेदी, गैंडाकोट–१ का वडाध्यक्ष सुरेन्द्र रेग्मी, गैंडाकोट–१४ का वडाध्यक्ष सरारा राना मगर, गैंडाकोट पम्पिङ स्किम खानेपानीका सचिव केशव पौडेल, गण्डकी साकोसका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुवेदीलगायतको उपस्थिती थियो।