"काली पसम् कि भाग २": मौलिक तीज गीतमार्फत चेलीको पीडा बोलेको आवाज

काठमाडौं । हिन्दू नारीहरूको महान् पर्व तीज नजिकिँदै गर्दा, बजारमा नयाँ–नयाँ तीज गीतहरू आउने क्रम चलिरहेको छ। तर, तीमध्ये केही गीतहरू मात्र छन् जसले मौलिकता बोकेर समाजका चिरफार नगरेका पीडालाई उजागर गर्छन्। यस्तै एउटा अत्यन्तै संवेदनशील र सशक्त सन्देश बोकेको गीत हो – "काली पसम् कि भाग २"।
पछिल्लो वर्षको तीजमा ८० लाखभन्दा बढी दर्शकले हेरेर ‘करोड क्लब’ नजिक पुर्याएको "काली पसम् कि" को अपार सफलतापछि, त्यसको दोस्रो भागका रूपमा प्रेम सापकोटा सोनुको लेखनमा सजिएको यो गीत पुनः चर्चाको शिखरमा पुगेको छ।
शान्ति श्री पारियारको मार्मिक स्वरले सजिएको यो गीतले एक चेलीको अन्तर्मनको चीत्कारलाई आवाज दिएको छ – त्यो चेली जसले पराइ घरमा पाएको घरेलु हिंसा, सामाजिक बहिष्कार र आत्मसम्मानको कुण्ठालाई गीतको माध्यमबाट पोखेकी छन्।
गीत सार्वजनिक हुनु अगावै नै चर्चाको शिखरमा पुगेको थियो। सर्जक प्रेम सापकोटा सोनु र गायिका शान्ति श्री पारियारले स्टुडियोमै रुँदै गीत गाएको भिडियो सार्वजनिक भएपछि गीतप्रतिको प्रतीक्षा झनै बढेको थियो।
यो गीतमा अभिनेत्री स्मारिका ढकालको अत्यन्तै प्रभावशाली अभिनय देख्न सकिन्छ भने साथमा जोहन बम ठकुरी र किस्न आचार्यको पनि उपस्थिति छ। निर्देशन जेरि भण्डारीले गरेका हुन्।
गीतमा एउटा चेली आफ्नो वैवाहिक जीवनमा पाएको पीडाले ग्रस्त छिन्। उनी समाजले थोपरेको झुटो हाँसो ओठमा झुन्ड्याएर बाँच्न खोज्छिन्, तर अन्ततः उनी ‘काली पसेर पनि शान्ति नपाएको’ अवस्थासम्म पुग्छिन्।
यो गीत केवल गीत होइन, त्यो एउटा वास्तविकताको चित्रण हो – जहाँ महिलाले भोग्नु पर्ने यातना, दमन र आत्मघाती सोचलाई संगीतमा ढालेको छ।
आजको तीज गीतहरूमा मौलिकता हराउँदै गएको बेला, "काली पसम् कि भाग २" ले गहिरो प्रश्न उठाएको छ –
के तीज केवल नाचगान र चमकधमकको पर्व हो?
कि त्यो महिलाको वास्तविक पीडा पोख्ने माध्यम हो?
सामाजिक संजालमा गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ। धेरैले यो गीतले वास्तविक चेलीहरूको पीडालाई उजागर गरेको भन्दै धन्यवाद दिएका छन्। साथै, विकृति र भड्किलोपनभन्दा हटेर मौलिक शब्द, लय र कथा प्रस्तुत गरेकोमा प्रसंसा भइरहेको छ।
"काली पसम् कि भाग २" केवल एक तीज गीत होइन – यो चेलीहरूको पीडा, मौनता र संघर्षको कथा हो। प्रेम सापकोटा सोनु र टिमले मौलिकता, समाजप्रतिको उत्तरदायित्व र कला तीनै पक्ष समेटेर यसलाई सशक्त बनाएका छन्।
तीज गीतको मूल मर्म सम्झाउने यस्तो गीतहरू अझ बढून्, चेलीहरूको आवाज अझ बुलन्द होस्।