गैँडाकोट नमूना माविका आरूष श्रेष्ठ भए ३.९६ जिपिए सहित नवलपुर प्रथम

गैँडाकोट । गैँडाकोट नमूना माविका विद्यार्थी आरूष श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको कक्षा १२ को परीक्षामा ३.९६ जिपिए हासिल गरेका छन् । नवलपुर जिल्लामै सर्वश्रेष्ठ नतिजा ल्याएका आरूष श्रेष्ठ विज्ञान संकाय विद्यार्थी हुन् ।
विद्यालयका प्राचार्य गोपेन्द्र केशरी न्यौपानेका अनुसार अहिलेसम्मको उपलब्ध विवरण अनुसार आरूष श्रेष्ठ नवलपुर जिल्लाकै प्रथम विद्यार्थी रहेका छन्। विद्यार्थीको निरन्तर मिहिनेत, अभिभावकको साथ र शिक्षकहरूको समर्पणले हामीलाई यो सफलतासम्म पुर्याएकाे प्राचार्य न्याैपानेले बताउनुभयाे ।
सोही विद्यालयका विद्यार्थी आविष्कार गिरीले ३.९५ जिपिए र आयूष घिमिरेले ३.८७ जिपिए प्राप्त गरेका छन् । ती तीनै जना विद्यार्थीले जिल्लाभरिका अन्य प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै आफ्नो प्रतिभा प्रमाणित गरेकाे विद्यालयले जनाएकाे छ ।
विद्यार्थी, शिक्षक र अभिभावकको साझा प्रयासबाट उत्कृष्ट नतिजा आएकाे विद्यालयका १०+२ संयोजक चन्द्र केसीले जानकारी दिनुभयाे । विद्यालय परिवारकाे मेहनत र समर्पणको प्रतिफल स्वरूप प्रत्येक वर्ष झैँ यसपालि पनि गैँडाकोट नमूना माविले जिल्लामा गौरवपूर्ण उपस्थिति जनाउन सफल भएकाे बताउनुभयाे ।
गैँडाकोट नमूना माविले विगतका वर्षहरूमा पनि लगातार उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको छ। यस वर्षको सफलता विद्यालयको शैक्षिक अनुशासन, समर्पित पठनपाठन र गुणस्तरीय शिक्षण पद्धतिको प्रतिबिम्बका रूपमा देखिएको छ।