कञ्चनपुरमा एक महिला मृत फेला

२०८२ श्रावण २० मंगलबार १३:३०:०० मा प्रकाशित

धनगढी । कञ्चनपुरको बेलडाँडी-२ मा एक महिला आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । पाँच महिना अगाडि मात्रै वैवाहिक बन्धनमा बाँधिएकी १७ वर्षीया सम्झना भट्ट आइतवार साँझ आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।सम्झनाको गत फागुनमा २४ वर्षीय पवन भट्टसँग प्रेम विवाह भएको थियो ।

 
सम्झनाको मृत्युलाई आफन्तले शंकास्पद भनेका छन् । श्रीमानले कुटपिट गरेको, यातना र तनाव दिएका कारण उनको मृत्यु भएको भन्दै माइती पक्षले किटानी जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा पवनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराले जानकारी दिनुभयो ।


मृतकको शरीरमा ठूला बाहिरी चोटहरू नदेखिए पनि नङले कोतरेका जस्ता नीलडाम र घाउ चोटहरू देखिएको डीएसपी बोहराको भनाई छ । डीएसपी बोहराका अनुसार घटना हुनुभन्दा केही दिनअघि शनिबार मात्रै उनीहरूबिच विवाद हुँदा बेलडाँडी प्रहरी चौकीमा पुगेका थिए । प्रहरीले दुवैलाई सम्झाई-बुझाई घर पठाएको थियो ।


पीडितका माइती पक्षले दिएको जाहेरीमा दाइजोको विषय पनि उल्लेख गरिएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरीले मृतकले अन्तिम पटक कोसँग कुरा गरेकी थिइन् भन्नेबारे पनि सोधपुछ गरिरहेको छ । प्रहरीका अनुसार मृतकको शवलाई पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएको छ । घटनाको अनुसन्धान जारी रहेको र सबै कोणबाट छानबिन गरिने डीएसपी बोहराले जानकारी दिनुभएको छ ।