चितवनमा एक वर्षमा तीन सय बढी उद्योग बन्द

चितवन । पछिल्लो समय उच्च शिक्षाका लागि विदेश जानेको संख्या बढेसँगै उद्योग तथा व्यवसाय दर्ता गर्ने र बन्द गर्ने प्रचलन बढेको छ । उद्योग तथा वाणिज्य कार्यालय चितवनका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार चितवनमा एक वर्षमा दर्ता भएका तीन सय बढी उद्योग बन्द भएका छन् ।
बन्द भएका उद्योगमध्ये सबैभन्दा बढी कृषिमूलक उद्योग रहेका छन् । उत्पादनमूलक ७४, सेवामूलक ७४ र पर्यटनमूलक ३६ गरी १ सय ९९ वटा उद्योग बन्द भएका सूचना अधिकारी कुमालले जानकारी दिनुभयो । उहाँका अनुसार, सोही अवधिमा कृषिमूलक १४०, सेवामूलक ११४, उत्पादनमूलक ६२, पर्यटनमूलक १५ गरी ३ सय ३१ वटा नयाँ उद्योग दर्ता भएका छन् । जिल्लामा रहेका उद्योगमध्ये दुई हजार ३ सय ९० वटा उद्योग नवीकरण भएका छन् । जसमध्ये १ सय १८ वटाले पुँजी वृद्धि गरेका छन् भने आठ वटाले स्तर परिवर्तन गरेका छन् । वाणिज्यतर्फ ५ सय २४ वटा व्यवसाय बन्द भएका छन् । नयाँ दर्ता भएका ३ सय ७७ वटा व्यवसायमध्ये तीन हजार १ सय ११ वटा व्यवसाय मात्र नवीकरण भएको सूचना अधिकारी कुमालको भनाई छ। उहाँका अनुसार २ सय ३ वटा व्यवसायीले पुँजी वृद्धि गरेका छन् भने ३४ वटाले उद्देश्य थप गरेका छन् । उद्योग बन्द गर्न पाँच वर्ष अवधि पर्खिनुपर्ने भएकाले पनि बन्द गर्ने प्रचलन बढेको कुमालको भनाई छ ।