कावासोती नगरपालिकाद्धारा दुग्ध उत्पादक किसानलाई २८ लाख अनुदान

नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई करिब रु २८ लाख अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ मा नगरभित्रका दुग्ध उत्पादक किसानलाई २७ लाख ९२ हजार २ सय ९६ रुपैयाँ अनुदान स्वरुप प्रदान गरेको हो ।
नगरपालिकाले हाल नगरभित्रका दुग्ध उत्पादक किसानलाई दूधमा प्रति लिटर रु २ पैसा अनुदान उपलब्ध गराउँदै आएको छ । नगरभित्रका पाँचवटा सहकारीमार्फत उक्त अनुदान वितरण गरिएको हो ।
पाँचवटा सहकारीमा संकलन भएको कुल १३ लाख ९६ हजार १ सय ४८ लिटर दुध बराबर अनुदान उपलब्ध गराइएको हो । साना किसान कृषि सहकारी संस्था कावासोती -१४ मार्फत ६ लाख ३५ हजार २७५ लिटर, एकीकृत दुग्ध विकास सहकारी संस्था कावासोती-८, मार्फत ३ लाख १९ हजार ६४ लिटर, जनकल्याण कृषि तथा दुग्ध सहकारी कावासोती-१७, मार्फत ३ लाख १६ हजार ९९२ लिटर , शिवमन्दिर महिला बहुउद्देश्य सहकारी कावासोती-२ मार्फत ५७ हजार ५८३ लिटर र नमूना दुग्ध उत्पादक सहकारी कावासोती-१७, मार्फत ६७ हजार २३३ लिटर दुध संकलन भएको थियो ।
उक्त संकलित दुधको आधारमा प्रतिलिटर रु २ का दरले अनुदान उपलब्ध गराइएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले बताउनुभयो।
सहकारीमा दूध बिक्री गर्ने किसानलाई बिक्री गरेको दूधको परिमाण अनुसार सहकारी मार्फत नगरपालिकाले उपलब्ध गराएको अनुदान प्रदान गर्ने गरिएको नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । उत्पादनका आधारमा अनुदान प्रदान गर्दा किसानलाई उत्पादन बढाउन उत्प्रेरित गर्ने हुँदा नगरपालिकाले सोही आधारमा अनुदान उपलब्ध गराउँदै आएको उहाँको भनाई छ ।