नागरिकको स्वास्थ्य सेवा सुनिश्चित गर्न तीनै तहका सरकार उत्तरदायी हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल

गैंडाकोट, नवलपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनु तीनै तहका सरकारहरूको दायित्व भएको बताउनुभएको छ। शुक्रबार नवलपुरको गैंडाकोटमा विजय विकास स्रोत केन्द्रको ४७ औं स्थापना दिवसका अवसरमा आयोजित तथा मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा बोल्दै उहाँले नागरिकको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका विषयमा राज्य गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारले विभिन्न काम गरिरहेको बताउनुभएको छ । उहाँले व्यवहारमा संविधानका व्यवस्था कार्यान्वयन नहुँदा जनतामा निराशा पैदा हुने बताउँदै राज्यले गम्भिर भएर काम गर्नुपर्ने बताउनुभयो । “निशुल्क भन्नाले कतै न कतैबाट लगानी हुनैपर्छ, राज्यले सबै कुरामा लगानी गर्न नसक्दा पनि स्वास्थ्य र शिक्षामा अवश्य गर्नुपर्छ,“ उहाँले भन्नुभयो ।
स्वास्थ्यमन्त्री पौडेलका अनुसार राज्यले लगानी गर्न नसके विकल्प खोज्नुपर्छ। संसारका १५० भन्दा बढी देशहरूमा नागरिकको योगदानमा आधारित, बीमा प्रणाली कार्यान्वयनमा रहेकाले नेपालले पनि सामाजिक सुरक्षासँग जोडिएको बीमा प्रणालीलाई सुदृढ गर्न सक्ने उहाँको भनाइ थियो।
बालबालिकामा मधुमेह देखिन थालेकाले सरकार अब मधुमेह टाइप १ को परीक्षण तथा उपचार सातवटै प्रदेशमा निःशुल्क गर्ने तयारीमा रहेको मन्त्री पौडेलले जानकारी दिनुभयो । “उमेर पुगेपछि मात्रै होइन, बाल्यकालमै मधुमेह देखिने भएकाले समयमै परीक्षण र उपचार अनिवार्य छ,” मन्त्री पौडेलले स्पष्ट पार्नुभयोे। उपचार खर्च राज्य र नागरिक दुवैको सहकार्यमा कम गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, “मेरो स्पष्ट भिजन छ - १०० रुपैयाँको उपचार गर्दा नागरिकले ८ रुपैयाँ मात्रै तिर्नुपर्ने व्यवस्था गरिनेछ ।”
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले रोग लागेपछि उपचारभन्दा पहिले नै सचेतनामा जोड दिनुपर्ने बताउनुभयो ।
सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सामाजिक सुरक्षा कोषले मानिसको जीवनमा आउने अधिकांश जोखिममा काम गर्दै आएको र अधिकांश रोगहरूको उपचार व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले कस्मेष्टिक, डेन्टल र मेन्टल बाहेकका स्वास्थ्य समस्या सामाजिक सुरक्षा कोषले कभर गर्ने बताउनुभयो ।
नुरा हेल्थ फाउन्डेसनका देशीय निर्देशक डा. सुशील कोइरालाले मधुमेह टाइप १ विशेषगरी बालबालिकामा देखिने र नेपालमा हालसम्म ६ सय बालबालिका मात्र सूचीकृत भए पनि वास्तविक संख्या धेरै हुन सक्ने जनाउनुभयो। उहाँले किशोर अवस्थामा नै मधुमेहबारे सचेतना आवश्यक रहेको समेत बताउनुभएको छ ।
विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले नागरिककै स्तरबाट स्थापना भएको संस्थाले नीति, नियम र जनसमस्या सरकारसम्म पुर्याउने प्रयास स्वरूप कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। “मधुमेहबारे समाजमा चेतना अभाव छ, त्यसैले बालबालिकामा हुने मधुमेहप्रति नागरिक सजग र उत्तरदायी बन्नुपर्छ,“ उहाँले भन्नुभयो।
संस्थाले पहिलो प्रकारको मधुमेह रोगको यथोचित नीतिगत सम्बोधन गर्न मन्त्री पौडेलको ध्यानाकर्षण पनि गराएको संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताउनुभएको छ। विजय विकास स्रोत केन्द्रले बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल मार्फत मधुमेह प्रभावित बालबालिकालाई निःशुल्क इन्सुलिन अनुगमन तथा औषधि उपचारमा सहयोग पुर्याउँदै आइरहेको छ ।
सो अवसरमा पहिलो प्रकारको मधुमेह रोगबाट ग्रसित राजन घिमिरे क्षेत्री र एलिसा कुँवरले बालबालिकामा पनि मधुमेह रोग लाग्ने अनुभव साझा गर्दै आमाबुबा र परिवारले बालबालिकामा देखिने मधुमेहका लक्षणको निरन्तर अनुगमन गर्नुपर्ने बताउनुभयो
स्वास्थ्यमन्त्री पौडेलले गैंडाकोट आधारभुत अस्पताल, बिकु बचत तथा ऋण सहकारी संस्था, विजय सूचना तथा सञ्चार सहकारी संस्था, विजय विकास स्रोत केन्द्र लगायत विभिन्न संस्थाको अवलोकन भ्रमण गर्नुभएको थियो । त्यसै अवसरमा उहाँले कालिका संस्कृति विद्यापीठमा वृक्षारोपण समेत गर्नुभएको थियो ।