भानुजयन्तीको अवसरमा वरिष्ठ कवि गोविन्द विनोदी र तुलसी दिवसलाई राष्ट्रिय सम्मान 

२०८२ असार २९ आइतबार १८:४१:०० मा प्रकाशित

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा वरिष्ठ कवि गोविन्दराज विनोदी र साहित्यकार तुलसी दिवसलाई रथारोहणसहित राष्ट्रिय सम्मान प्रदान गरिएको छ।


भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रभातफेरी, भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण तथा स्रष्टा सम्मान कार्यक्रम गरिएको थियो । सो अवसरमा नेपाली साहित्य र भाषा विकासमा उल्लेखनीय योगदान र्पुयाउँदै आउनुभएका वरिष्ठ  कवि विनोदी र साहित्यकार दिवसलाई रथारोहणसहित विशेष सम्मान गरिएको हो।


वि.सं १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा रामायण अनुवाद गरी साहित्यको जग मजबुत पार्न योगदान दिनुभएको स्मरण गर्दै देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइएको छ। भानुभक्तका ‘रामायण’ बाहेक ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ जस्ता कृतिहरू नेपाली साहित्यका अमूल्य धरोहर हुन्।