नारायणी नदी किनारका बासीन्दालाई सचेत रहन गैँडाकोट नगरपालिकाको आग्रह

गैँडाकोट । हालको अविरल वर्षाका कारण नारायणी नदीको जलाधार क्षेत्रमा पानीको बहाव बढेको छ । गैँडाकोट नगरपालिकाले सम्भावित बाढी जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
नगरप्रमुख मदनभक्त अधिकारीद्वारा हस्ताक्षरित नदी किनार वरपर बसोबास गर्ने नागरिकहरूलाई सचेत गराइएको छ । नदीमा माछा मार्ने, नुहाउने, गोठालो गर्ने र नदी किनारमा घुम्न जाने व्यक्तिहरुले सावधानी अपनाउन आग्रह गरिएको छ । बालबालिकालाई नदी किनारको आसपास जान नदिन अभिभावकहरूलाई पनि विशेष आग्रह गरिएको छ ।
नगरपालिकाले सम्भावित बाढीबाट हुन सक्ने जनधनको क्षति न्यून पार्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, वडा कार्यालयहरू लगायतका सरोकारवाला निकायहरूलाई तयारी अवस्थामा राखिएको जानकारी दिएको छ ।