वर्षे विदामा शिक्षा शाखाले दियो : शिक्षकलाई गृहकार्य

नवलपरासी पूर्व । कावासोती नगरपालिकाको शिक्षा शाखाले वर्षे विदामा शिक्षकलाई पनि गृहकार्य दिएको छ । वर्षे विदामा शिक्षकहरुलाई पढाउने कोर्स भन्दा बाहिरको पेशागत विकासमा सहयोग पुग्ने कुनै पनि पुस्तक पढ्ने गृहकार्य दिएको हो । शिक्षा शाखा अधिकृत राजन पाण्डे हस्ताक्षरित पत्रमा शिक्षक साथीहरुलाई आफूले पढाउने कोर्स भन्दा बहिरको पेशागत विकासमा सहयोग पुग्ने गिजुभाईको दिवा स्वप्न जस्तै कुनैपनि पुस्तक पढी त्यसको विस्तृत समिक्षा लेख्न भनिएको छ । यसैगरी लेखिएको समिक्षा विद्यालयमा बुझाउनुपर्ने र विद्यालयले उत्कृष्ट लेखलाई नगरपालिकामा पेश गर्न सूचित गरेको छ ।
शिक्षा शाखाले शिक्षकका साथै विद्यार्थीलाई पनि बर्षे विदामा किताबी ज्ञानका कुराहरु मात्र नभइ व्यवहारिक ज्ञान र सीप विकासमा सहयोग पुग्ने परियोजनात्मक कार्य दिन विद्यालयहरुलाई ध्यानाकर्षण गराएको छ । कावासोतीका संस्थागत तथा सामुदायिक सबै विद्यालयका विद्यार्थीहरुलाई रोपाईं गर्ने, हरियाली वातावरण, चाडपर्व, मौसमि फलफूल, फोटो संकलन लगायतका परियोजना दिन सुझाएको छ । यसका साथै आफ्नो र परिवारको स्वास्थ्य र मौसमी प्रतिकूलताको कारण हुन सक्ने जोखिम प्रति सजग रहन सचेत गराएर वर्षे विदा दिन आग्रह गरिएको छ । edusri.com