नवलपुरमा करिब ५८ प्रतिशत, गैँडाकोटमा ८५ प्रतिशत धान रोपाइ सम्पन्न

२०८२ असार २५ बुधबार १३:०७:०० मा प्रकाशित

नवलपरासी पूर्व । असार महिनाको तेस्रो साता सकिँदै गर्दा नवलपुर जिल्लामा करिब ५८ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ । नवलपुर कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत विश्वास काफ्लेका अनुसार जिल्लामा कुल १८ हजार ७१६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १० हजार ८६० हेक्टरमा रोपाइ सकिएको हो ।


बढी सिँचाइ सुविधा भएका गैंडाकोट नगरपालिका, मध्यबिन्दु नगरपालिका, देवचुली नगरपालिका र कावासोती नगरपालिकामा रोपाइ राम्रो भएको छ । तर आकाशे पानीको भर पर्ने विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली र हुप्सेकोट गाउँपालिकामा पानीको अभावले गर्दा रोपाइ ढिला भइरहेको छ । रोपाइ सकिएका क्षेत्रमा सावा मंसुली, रामधान, सावित्री जस्ता उन्नत जातका धान र केही ठाउँमा हाइब्रिड धान लगाइएको छ ।


गैंडाकोट नगरपालिकामा हालसम्म करिब ८५ प्रतिशत रोपाइ सम्पन्न भइसकेको छ । अनुमानित ३३ सय हेक्टर क्षेत्रफलमा हुने धान खेतीमा अघिल्लो वर्ष प्रति हेक्टर ४ दशमलब १ टन उत्पादन भई कुल १३ हजार ५ सय टन धान उत्पादन भएको थियो । यस वर्ष सिँचाइ सुविधा, बोलि∙ कार्यक्रम र ११, १२, १४, १६ वडामा सञ्चालित धान जोन कार्यक्रमका कारण यस वर्ष उत्पादन अझै बढ्ने अनुमान रहेको गैंँडाकोट नगरपालिकाका कृषि विकास शाखाका कर्मचारी सुदर्शन ढुङ्गानाले बताउनुभयो ।


असार १५ गते मेसिनबाट समेत रोपाइ गरिएको र साविकको गैंँडाकोट क्षेत्रमाभन्दा अमरापुरी र हर्कपुर क्षेत्रमा बढी रोपाइ भएको उहाँले जानकारी दिनुभयो । साथै, गैंडाकोट नगरपालिकाले स्प्रे ट्याड्ढी वितरण, मौरी पालन, च्याउ घर निर्माण र च्याउ बिउ वितरण जस्ता कार्यक्रम सञ्चालन गरेको छ । उन्नत जातका बिउ र प्रविधिको प्रयोगका कारण यस वर्ष प्रति हेक्टर साढे ४ टनसम्म उत्पादन पुग्ने अनुमान गरिएको छ ।