पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्ड एकतर्फी सुचारु

२०८२ असार २५ बुधबार १२:५१:०० मा प्रकाशित

नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्ड एकतर्फी सुचारु भएको छ । बिहानैबाट रोकिएका यात्रुवाहक र साना सवारी साधनलाई पालैपालो आउजाउ गर्न दिइएको प्रहरीले जनाएको छ ।

बर्दघाट नगरपालिका ४ खुर्सानीखोलामा आज बिहानपख तीन फिट जति सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो । अहिले भासिएको स्थानमा माटो भरेर एकतर्फी सवारी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी (डिएसपी) विरदत्त पन्तले जानकारी दिनुभयो ।

सडक भासिने क्रममा फसेको लु १ ख ५८२७ नम्बरको एउटा मालबाहक ट्रक तानेर हटाइएको छ । पूर्णरुपमा राजमार्ग सुचारु गराउन नारायणगढ बुटवल सडक विस्तार आयोजनाले मर्मतको काम गरिरहेको छ । गत वर्षपनि सोही स्थानमा सडक भासिदा दुई दिनसम्म राजमार्ग सुचारु हुन सकेको थिएन । गत वर्ष पहिरोले भासिएको सडक मर्मत गरेर सुचारु गरिएको भएपनि यस वर्ष पानी पर्न थालेपछि सोही स्थानमा फेरि सडक भासिएको हो ।