गैँडाकोटमा ४९ जना द्वन्द्व प्रभावित महिला तथा बालिकाको पहिचान

गैँडाकोट नगरपालिका । नवलपुरको गैँडाकोट नगरपालिकामा ४९ जना द्वन्द्व प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान गरी समिक्षा गरिएको छ। गृह मन्त्रालयद्धारा जारी महिला, शान्ति र सुरक्षासँग सम्बन्धित संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्ताव १३२५ र १८२० अन्तर्गत दोस्रो राष्ट्रिय कार्ययोजना गैँडाकोट नगरपालिकाले कार्यान्वयन सम्पन्न गरेको हो । समितिको समष्टिगत आवश्यकता पहिचान उपसमिति र विजय विकास स्रोत केन्द्रको “न्यायका लागि साहस ३.० परियोजना”द्वारा यो पहल अघि बढाइएको हो।
विजय विकास स्रोत केन्द्र र द स्टोरी किचनको आर्थिक सहयोग तथा गैँडाकोट नगरपालिकाको आयोजनामा चेतना सदनमा कार्यक्रम सम्पन्न भयो। सो अवसरमा संकलित तथ्याङ्क नगरपालिकालाई हस्तान्तरण गरिएको छ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले द्वन्द्व प्रभावित महिलाहरूका लागि नगरपालिकाले आवश्यक सहयोग र सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले नीति, नियम र कानुनको दायराभित्र रहेर समस्या पहिचान गरी समाधानका उपाय अघि बढाइने बताउनुभयो। “नगरपालिकाले स्वामित्व लिएर यो कामलाई अगाडि बढाउँछ,” नगरप्रमुख अधिकारीले भन्नुभयो।
त्यसैगरी, उपप्रमुख शान्ति कोइरालाले प्रभावितको तथ्याङ्क संकलन र पहिचान भएको जानकारी दिनुभयो। “कतिपय पालिकाले नगरेको काम हामीले सुरु गर्न पाउँदा सन्तोष लागेको छ,” भन्दै नगरपालिकाले उचित सम्बोधन गर्ने बताउनुभयो।
कार्ययोजना कार्यान्वयन समितिका सदस्य एवम् गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले द्वन्द्व प्रभावितका लागि कानुन र नीति अनुसार योजनाबद्ध रुपमा अघि बढ्ने बताउनुभयो। उहाँले तथ्याङ्क बाहिर रहेकाहरूलाई समेत समेट्दै पार्क निर्माण जस्ता कार्यक्रम सञ्चालन गरिने र विजय विकास स्रोत केन्द्रसँग सहकार्यलाई अझै मजबुत बनाउने धारणा राख्नुभयो।
विजय विकास स्रोत केन्द्रका “न्यायका लागि साहस ३.० परियोजना”का कार्यक्रम संयोजक नर्मदा पाण्डेले प्रभावित महिलाहरूको पहिचान आवश्यकता, स्वास्थ्य, रोजगार, परिपूरण र मेलमिलापका पक्षलाई केन्द्रमा राखेर प्रस्तुति दिनुभयो।
सो कार्यक्रममा कार्ययोजना कार्यान्वयन समितिका सदस्य तथा शिक्षा अधिकारी डा. बालकृष्ण चापाँगाई, गैँडाकोट नगरपालिकाका आर्थिक शाखा प्रमुख देवेन्द्र गौतम, रोजगार शाखा प्रमुख तारा उपाध्याय, विजय विकास स्रोत केन्द्रका प्रमुख कार्यकारी निर्देशक दीप नारायण सापकोटा, प्रशासन तथा वित्त अधिकृत कालिदास गौडेल, प्रभावितहरु उषा सापकोटा, देवकी मिश्र, गोमा शर्माले नगरपालिकाले गरेका काम, चालेका पहिचान, आफ्ना आवश्यकताका बिषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको सहजिकरण गैँडाकोट नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सीता लामिछाने पौडेलले गर्नुभएको थियो ।