कक्षा ११ मा छात्रवृत्तिको प्रक्रिया अघि बढाउन गैँडाकोट शिक्षा शाखाको निर्देशन

नवलपरासी पूर्व । गैँडाकोटका संस्थागत विद्यालयहरुलाई कक्षा ११ मा छात्रवृत्तिको प्रक्रिया अघि बढाउन गँैडाकोट शिक्षा शाखाले निर्देशन दिएको छ । शैक्षिक सत्र २०८२÷८३ मा कक्षा ११ सञ्चालन गर्ने विद्यालयहरुमा नयाँ विद्यार्थीका लागि संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७४ अनुसार छात्रवृत्ति छनोट गर्न निर्देशन दिएको छ । शैक्षिक सत्र २०८१ मा कक्षा ११ मा भर्ना भएका कुल विद्यार्थीको १० प्रतिशत संख्या एकीन गरी प्रत्येक विद्यालयले छात्रवृत्ती दिनुपर्ने व्यवस्था रहेको छ । परीक्षामा सहभागि गराई छात्रवृत्ति वितरण गर्न र सो को जानकारी श्रावण १५ गतेसम्म शिक्षा शाखामा विवरण पेश गर्न अनुरोध गरिएको छ । नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागाईंले परीक्षामा सहभागि नगराई छात्रवृत्ति छनोट भएको भनि दिइएको विवरण अभिलेखका लागि मान्य नहुने बताउनुभएको छ ।
प्रत्येक संस्थागत विद्यालयले अभिभावक र विद्यार्थीको पहुँचमा पुग्ने गरी छात्रवृत्ति माग गरिएको सूचना प्रकाशन तथा प्रसारण गर्नुपर्नेछ । सूचना प्रकाशन गर्दा कम्तिमा १५ दिनको म्याद राख्नुपर्ने जनाइएको छ । यसैगरी प्रश्नपत्र पनि कक्षा १० का मुख्य विषयहरुलाई आधार बनाएर पालिकामा श्रावण ५ गतेसम्म पेश गर्नुपर्ने हुन्छ । सबै संस्थागत विद्यालयले श्रावण १० गते छात्रवृत्ती छनोटका लागि परीक्षा लिनुपर्ने नगर शिक्षा अधिकारी डा. चापागाईंले जानकारी दिनुभयो । छात्रवृत्ती वितरण गर्दा छात्रवृत्ति वितरण संख्याबाट जेहेन्दार ३७ प्रतिशत, विपन्नता ३६ प्रतिशत, जनजाति १० प्रतिशत, दलित ५ प्रतिशत, अपांग ३ प्रतिशत, जनआन्दोलनका घाइते परिवारका सन्तती ३ प्रतिशत, शहिद सन्तती २ प्रतिशत, वेपत्ता परिवारका सन्तती २ प्रतिशत, मधेश आन्दोलनका घाइतेका सन्तती २ प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने प्रावधान छ । छात्रवृत्ती कोटामा ५० प्रतिशत महिला रहनुपर्नेछ ।
के अभिभावकलाई थाहा छ ? “कक्षा ११ पढ्दा छात्रवृत्ति पाइन्छ ।” अभिभावक तथा विद्यार्थीसम्म पुग्न नसक्दा धेरैले यसको लाभ लिन सक्नुभएको छैन । पैसा नभएकै कारण कोही पनि शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर छात्रवृत्तिको व्यवस्था रहेको नगर शिक्षा अधिकारी डा. चापागाईंँ बताउनुहुन्छ । अघिल्लो शैक्षिक सत्रमा गैँडाकोट नगरपालिका भित्र ९० जना भन्दा बढीले छात्रवृत्ति प्राप्त गरेका थिए । गैँडाकोट नगरपालिकामा कक्षा ११ सञ्चालन गर्ने संस्थागत विद्यालयहरुमा अक्सफोर्ड, विजय सामुदायिक, गैँडाकोट ईंङ्लिस स्कूल, सरस्वती निकेतन, गैँडाकोट नमुना र साइनिङ रहेका छन् ।