क्यानडामा “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै  

२०८२ असार ७ शनिबार १४:०८:०० मा प्रकाशित

टोरण्टो (शिशिर सिंखडा) । ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा २१ जुन अर्थात आज शनिबार साँझ क्यानडाको ब्राम्पटन शहरमा हुने नेपाली सुगम संगीतका सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिकको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाली सुगम संगीतका हस्ती गायक ढकालको एकल साँझ जुन २१ तारेख, आज शनिबार (असार ७ गते) हुन लागेको हो। बेलुकी ७ बजे देखि १० बजे सम्म हुने  “रामकृष्ण ढकाल साँझ” मा आधुनिक गीत संगीतका पारखीहरुले भरपुर आनन्द र मनोरञ्जन लिने आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बताउनु भयो ।
भुखाराग्रील रेस्टुरेन्टको हलमा हुने सो विशेष कार्यक्रम नितान्त पारिवारिक रुपमा आयोजना गरिएको छ । पारिवारिक समूह “प्रगतिशील समुह” को आयोजनामा हुने कार्यक्रममा करिब १ सय जनाको सहभागी रहने र कार्यक्रमको टिकट पनि  बिक्री भैसकेको कार्यक्रम संयोजक कमल ज्ञवालीले जानकारी दिनुभयो ।

गायक ढकाललाई तबलामा सन्तोष घिमिरे र गितारमा उदयराज पौडेलले साथ दिनेछन् ।
कार्यक्रममा गायक ढकालका चरीले त छाडेर गैगयो..., मन पराउने हजार भेटीन्छ्न..., माया गर्नेको..., ओराली लागेको..., बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस..., लगायतका तथा नारायण गोपालका केहि गीत पनि सुनेर दर्शकहरुले भरपुर मनोरञ्जन लिनेछन ।

२०४५ सालमा १३ बर्षको उमेरमै पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत प्रस्तुत गरेर चर्चित बनेका ढकाल नेपालमा सानो उमेरमै एकल साँझ गर्ने पहिलो गायक पनि हुन । २० वटा एकल एल्बम सार्वजनिक गरिसकेका ढकालका दर्जनौ गीतहरु चर्चित छन । उनले ५ हजार भन्दा बढी गीत गाएका छन ।