विजय लघुवित्तले गर्यो रजहरमा वित्तीय साक्षरता

२०८२ बैशाख २९ सोमबार १३:४५:०० मा प्रकाशित

देवचुली (पूर्वी नवलपरासी) । ग्रामीण समुदायमा वित्तीय सशक्तिकरण र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विजय लघुवित्त वित्तीय संस्था लिमिटेड, रजहर शाखाले एक दिने वित्तीय साक्षरताको कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न गरेको छ। देवचुली नगरपालिका-१३ स्थित साहारा पार्टी प्यालेसको सभाहलमा आयोजित उक्त कार्यक्रमले करिब ६० जना सदस्यहरूको उत्साहजनक र सक्रिय सहभागिता प्राप्त गरेको थियो ।

 

कार्यक्रमका सभाध्यक्ष एवं संस्थाको केन्द्रीय कार्यालयबाट प्रतिनिधित्व गर्दै आउनुभएका शम्भु प्रसाद रेग्मीले उक्त कार्यक्रमको सहजीकरणको भूमिका समेत निर्वाह गर्नुभएको थियो । उहाँले कर्जा सहि सदुपयोग, बचत वृद्धिमा जोड, आम्दानी तथा खर्च व्यवस्थापन, बीमा, विद्युतीय वित्तीय सेवा को महत्व र हुन सक्ने जोखिम, वित्तीय अनुशासन, इच्छा र आवश्यकताको भिन्नता, घरायसी बजेटको निर्माण जस्ता विषयहरूमा व्यवहारिक दृष्टिकोण बाट सरल र सुलभ भाषामा प्रशिक्षण दिनुभएको थियो । सहभागीहरूले उहाँको प्रस्तुतिलाई अत्यन्त उपयोगी र जीवनसँग प्रत्यक्ष जोडिएको अनुभव गरेका थिए, जसले उनीहरूको वित्तीय निर्णय क्षमता वृद्धि गर्ने दिशामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको   छ ।

 

कार्यक्रममा प्रमुख अतिथिको रूपमा केशव राज गौतम, देवचुली नगरपालिका-१६ का वडाध्यक्ष, विशेष अतिथिका रूपमा हेमलाल श्रेष्ठ, ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक र अतिथिहरूमा विभिन्न समुहबाट प्रतिनिधित्व गरेर आउनुभएका सदस्यबाट  भगवती श्रेष्ठ र  तिलक राम पौडेलको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन विजय लघुबित्त शाखा कार्यालयको शखा प्रमुख खिनादेवी शर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य सोही शाखाका कर्मचारी देबी सापकोटाले दिनुभएको थियो । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभर वित्तीय साक्षरताको अभियान सञ्चालन गर्दै रजहर शाखामा पनि यस कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउँदै आएको छ।

 

यस संस्थाले देशको विभिन्न स्थानहरूमा यस अगाडि पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै वित्तीय साक्षरताका बारेमा जनचेतना फैलाउँदै आएको छ।  यस संस्थाले देश भरी रहेको कुल १३७ वटा शाखा कार्यालय बाट बित्तीय सचेतता फैलाउने उदेश्यले बित्तीय साक्षरता कार्यक्रम गर्ने र सदस्यहरूमा वित्तीय व्यवस्थापन, आर्थिक अनुशासनको महत्त्वको बारेमा सचेतना गराउने तथा दीर्घकालीन आर्थिक सशक्तिकरणको लागि मार्गदर्शनको रूपमा प्रस्तुत गर्ने,  वित्तीय निर्णय क्षमतामा सकारात्मक प्रभाव पार्ने लक्ष्य रहेको  छ ।