गैडाकोटमा पौडी खेल्ने क्रममा खोलामा डुबेर २ युवकको मृत्यु

गैँडाकोट । नवलपरासी (बर्दघाट सु.पूर्ब)गैडाकोटमा पौडी खेल्ने क्रममा खोलामा डुबेर २ युवकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं १ र वडा नं ३ जोड्ने जुक्ति खोलामा पौडी खेल्ने क्रममा डुबेर २ युवकको ज्यान गएको हो । दिउसो करिब २ वजे तिर पौडी खेल्ने क्रममा डुवेको र त्यसको केहि समयपछि पुल निर्माण गर्ने मजदुरहरुले उनिहरुको शव बाहिर निकालेका थिए ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं ८ गौरीगंज घर भएका १६ वर्षका प्रमिशन पाठक र वडा नं ४ लंकु घर भएका १६ वर्षका शिशिर पन्त रहेका छन् ।
मृतक पाठक र पन्त दुवैजना एसइइ परिक्षा सकेर घरमै बस्दै आएका थिए । अहिले दुवैजना युवकको शव घटनास्थलबाट परिवारको जिम्मा लगाएको गैडाकोट वडा नं ३ का वडाअध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए । घटनाको खबर थाहा पाए लगत्तै गैँडाकोट नगरपालिकाका प्रवक्ता तथा वडा नं ३ का वडाअध्यक्ष तिवारी र इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो। जुक्तीखोलामा निर्माण भैरहेको पक्कीपुलका कारण सो खोलाको माथिल्लो भागमा पानी जम्मा भएकाले सो स्थानमा पौडी खेल्नका लागि युवाहरु पुग्ने गरेका छन् ।