आवासीय चिकित्सक सडकमा, शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी
2025-04-24-02-01-19.jpeg)
काठमाडौं । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु सेवा सुविधाको माग गर्दै २८ दिनदेखि प्रदर्शनमा उत्रिएका छन् । सरकारी सरह निर्वाह भत्ता माग गर्दै सेतो पोशाक लगाएका उनीहरु माइतीघर मण्डलामा भेला भएका छन् ।
उनीहरुले आज स्वास्थ्य मन्त्रालयसम्मै पुगेर प्रदर्शन गर्ने चेतावनी दिएका छन् । तर प्रहरीहरुले उनीहरुलाई अघि बढ्नबाट रोक्ने प्रयास गरिरहेका छन् । चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् ।
आन्दोलनरत चिकित्सकका अगुवाहरुले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको माग गरेका छन् । उनीहरुले शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने आवासीय चिकित्सकको भनाई छ । उनीहरुले यो आन्दोलन आफ्नो व्यक्तिगत स्वार्थको लागि नभई, सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि गरिएको बताएका छन् ।