गैंडाकोटका सामुदायिक विद्यालयको स्तरमापन (तालिका सहित)

२०८२ बैशाख ९ मंगलबार १३:५७:०० मा प्रकाशित


नवलपरासी पूर्व । अघिल्लो वर्ष संस्थागत विद्यालयको स्तरमापन गरेको गैँडाकोट नगरपालिकाको शिक्षा शाखाले यस वर्ष सामुदायिक विद्यालयको पनि स्तर मापन गरेको छ । विद्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा गरिएको स्तरमापनमा कुनै पनि विद्यालय ‘क’ वर्गमा पर्न सकेनन् । ३५ वटा सामुदायिक विद्यालयमध्ये साना कक्षा सञ्चालनमा रहेका विद्यालय छोडेर ३० सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षण गरिएको थियो । गैँडाकोट नगरपालिकाको शिक्षा शाखाले ८२ वटा सूचकलाई आधार बनाएर विद्यालयहरुको स्तर मापन गरेको गँैडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागाईंले बताउनुभयो । 

यस परीक्षणले ४० प्रतिशत भन्दा कम अंक ल्याउने ‘घ’ वर्गमा, ४० देखि ७० प्रतिशत अंक ल्याउने विद्यालय ‘ग’ बर्गमा, ७० देखि ९० प्रतिशत अंक ल्याउने ‘ख’ बर्गमा र ९० देखि बढी ल्याउने विद्यालय ‘क’ बर्गमा पर्ने गरि स्तर निर्धारणको आधार बनाएको थियो । 

३० वटा सामुदायिक विद्यालय मध्ये १० वटा विद्यालय ‘ख’ वर्गमा परेका छन् । ‘ख’ बर्गमा जनक नमुना माध्यमिक विद्यालय, कालिका नमुना माध्यमिक विद्यालय, रत्नराज्यलक्ष्मी माध्यामिक विद्यालय, जनता आधारभूत विद्यालय, विजय ज्योती आधारभूत विद्यालय, पञ्चज्योती आधारभूत विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय, अमरज्योती माध्यमिक विद्यालय, नेराश माध्यमिक विद्यालय, र जनता माध्यमिक विद्यालय रहेका छन् । 

यसैगरी ‘ग’ बर्गमा १९ वटा सामुदायिक विद्यालय परेका छन् । नवदुर्गा आधारभूत विद्यालय, महेन्द्र स्मारक आधारभूत विद्यालय, कृष्णगण्डकी माध्यमिक विद्यालय, जनजागृति आधारभूत विद्यालय, मौलादेवी आधारभूत विद्यालय, भाग्योदय आधारभूत विद्यालय, नारायणी माध्यमिक विद्यालय, विजय आधारभूत विद्यालय, दुर्गा आधारभूत विद्यालय, कुमारवर्ती आधारभूत विद्यालय, मुकुन्दसेन आधारभूत विद्यालय,  जनशक्ति आधारभूत विद्यालय, नारायणी आधारभूत विद्यालय,  दीपज्योती आधारभूत विद्यालय, शंखदेवी आधारभूत विद्यालय, बालोदय आधारभूत विद्यालय, देउराली आाधारभूत विद्यालय, बालज्योती माध्यमिक विद्यालय, वीरेन्द्र आधारभूत विद्यालय ‘ग’ बर्गमा परेका हुन् । 

‘घ’ बर्गमा एकमात्र विद्यालय रहेको छ । जुन गैँडाकोट १८ मा रहेको त्रिशुली आधारभूत विद्यालय हो । 
शिक्षा शाखाले विद्यालयमा भइरहको लगानी, कार्य प्रक्रिया, उपलब्धी, सेवा प्रदान गरिएको विद्यार्थी संख्याका आधारमा स्तरमापन गरिएको हो । लगानीकमा २५ प्रतिशत, प्रक्रियामा ३० प्रतिशत, उपलब्धीमा ४० प्रतिशत, सेवा प्रदान गरिएको विद्यार्थी संख्यामा ५ प्रतिशत अंक भार निर्धारण गरिएको थियो । 

लगानीका सन्दर्भमा विद्यालयको भौतिक संरचना, क्षेत्रफल, खेलमैदान, कक्षा कोठाको उपलब्धता र प्रयोग, कक्षा कोठाको गुणस्तर, चमेनागृह, शौचालय, पुस्तकालय, प्रयोगशाला, खेलकुद सामग्री, शिक्षक, समुदायको सहभागिता लगायतका विभिन्न सूचकलाई आधार बनाइएको थियो । लगानीको सन्दर्भमा पनि विद्यालयहरुको स्तर छुट्याइएको छ । लगानीका आधारमा उत्तम, मध्यम, सामान्य, कमजोर भनेर छुट्याएको छ । लगानीका आधारमा जनक, कालिका र रत्नराज्य मावि उत्तम स्थानमा रहेका छन् । १४ विद्यालय मध्यम स्थानमा छन् भने बाँकी सामान्य स्थानमा छन् ।  

कक्षा शिक्षण, विद्यार्थी मूल्याङ्कन, शिक्षकको पेसागत विकास, नेतृत्व र व्यवस्थापन, सह र अतिरिक्त क्रियाकलाप सम्बन्धि सूचकका आधारमा पनि विद्यालयहरुलाई उत्तम, मध्यम, सामान्य र कमजोर छुट्याइ स्तर मापन गरिएको छ । जनक र कालिका मावि उत्तमको स्थानमा रहेका छन् । नवदुर्गा आधारभूत विद्यालय कमजोर स्थानमा रहेको छ भने अरु विद्यालय मध्यम र सामान्य स्थानमा रहेका छन् ।  


यस्तै विद्यार्थीको नियमितता, कक्षा दोहो¥याउने र विद्यालय छाड्ने दर, सिकाइ उपलब्धी, सेवाग्राही (अभिभावक पनि)  सन्तुष्टि, शिक्षकहरुको पेसागत सन्तुष्टिको आधारमा पनि स्तर मापनगरिएको छ ।           उपलब्धीलाई सबैभन्दा धेरै अंकभार दिइएको थियो । उपलब्धीका आधारमा मात्र हेर्दा जनता आधारभूत विद्यालय, विजय ज्योती आधारभूत विद्यालय उत्तम स्थानमा रहेका छन् । जनक र कालिका अरुमा उत्तम स्थानमा रहेपनि विद्यार्थीको नियमितता, कक्षा दोहो¥याउने र विद्यालय छाड्ने दर, सिकाइ उपलब्धी, सेवाग्राही (अभिभावक पनि) सन्तुष्टि, शिक्षकहरुको पेसागत सन्तुष्टिको सूचक अर्थात उपलब्धीमा पछि पर्दा ‘क’ बर्गमा पर्नबाट बञ्चित भएको देखिन्छ । रत्नराज्य लक्ष्मी माविको पनि प्रक्रिया र उपलब्धीमा मध्यम स्थानमा रहँदा आशातित प्रगति आउन सकेन । 


विद्यालयमा रहेका विद्यार्थी संख्यालाई पनि आधार परीक्षणको आधार बनाइएको छ । तोकिएको न्यूनतम संख्याको २५ प्रतिशत भन्दा कम विद्यार्थी भए ० अंक, २५ देखि ५० प्रतिशत विद्यार्थी भए १ अंक, ५० देखि ७५ प्रतिशत विद्यार्थी भए २ अंक, ७५ देखि ९० प्रतिशत विद्यार्थी भए ३ अंक र तोकिएको न्यूनतम संख्याको शतप्रतिशत भन्दा बढी विद्यार्थी भए ५ अंक पाउने आधार बनाइएको थियो । यसमा नेराश मावि, जनक मावि, कालिका मावि, रत्नराज्य लक्ष्मी मावि, जनता मावि, लक्ष्मी मावि, अमरज्योती मावि उत्तम स्थानमा रहेका छन् । यो आधारमा नवदुर्गा आवि, जनता आवि, जनजागृति र मौलादेवी, भाग्योदय आवि, दुर्गा आवि, जनशक्ति आवि, नारायणी आवि, दीपज्योती आवि, शंखदेवी आवि, देउराली आवि, त्रिशुली आवि, बालज्योती मावि र वीरेन्द्र आवि कमजोर स्थानमा रहेका छन् । 


गैँडाकोट नगरकार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखाले गरेको स्तर निर्धारण तीन वर्षका लागि कायम रहनेछ । तीन वर्ष पश्चात कुनै विद्यालयले आफ्नो विद्यालयको स्तर निर्धारण गरियोस् भनि शिक्षाशाखामा तोकिएको राजश्व तिर निवेदन दिएपश्चात पुनः पालिकाले सो विद्यालयको स्तर निर्धारण प्रक्रिया अघि बढाउनेछ । 


गैडाकोटका १४ विद्यालयमा एकसय भन्दा कम विद्यार्थी, विद्यालय समायोजनको योजना के छ ?


नेपाल सरकारको तथ्यांक अनुसार नेपालमा २७ हजार ९ सय ९० सामुदायिक विद्यालय छन् । १५ हजार ९६५ विद्यालयमा एकसयभन्दा कम विद्यार्थी छन् । जुन कुल विद्यालयको आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या १ सय भन्दा कम हुन् । यता गँैडाकोट नगरपालिका भित्रको सामुदायिक विद्यालयको अवस्थापनि उस्तै उस्तै देखिन्छ । 

गँैडाकोट शिक्षा शाखाका अनुसार गँैडाकोट नगरपालिकामा ३५ सामुदायिक विद्यालय रहेका छन् ।  ३५ सामुदायिक विद्यालयमध्ये १४ वटा सामुदायिक विद्यालयमा एकसय भन्दाकम विद्यार्थी रहेका छन् । ८ विद्यालयमा त झन् ५० भन्दा कम विद्यार्थी छन् । 

बैशाख २ गतेबाट भर्ना अभियानका लागि विद्यालयहरु खुल्नुपर्ने हो । काठमाण्डौँमा जारी शिक्षकहरुको आन्दोलनका कारण भर्ना अभियान अस्तव्यस्त बनेको छ । यस अघि नै विद्यार्थी संख्या कम भएका विद्यालयमा भर्ना अभियान अस्तव्यस्त हुँदा थौरै विद्यार्थी भएका विद्यालयको भविष्य के हुने भन्ने चिन्ता थपिएको छ । 

गैँडाकोट नगरपालिकाद्वारा जारी शैक्षिक बुलेटिन अनुसार नवदुर्गा आधारभूतमा ९३, जनता आधारभूत विद्यालय गैँडाकोटमा ४२ जना, जनजागृति आधारभूत विद्यालयमा २४ जना, मौलादेवी आधारभूत विद्यालयमा ३० जना, पञ्चकन्यामा ३०, भाग्योदमा आधारभूत विद्यालयमा १००, सिर्जनशीलमा ४४, जनशक्तिमा ९५, दीपज्योतीमा ९८, बालउदयमा ६६, देउरालीमा ६१, त्रिशुलीमा १०, विरेन्द्रमा २७ र जलदेवीमा ६ जना विद्यार्थी अध्ययनरत रहेका छन् । 

गँैडाकोटको पहाडी क्षेत्रमा भौगोलिक विकटताका कारण समुदायमा बालबालिकाको संख्या कम हुँदै जाँदा विद्यार्थीको संख्या पनि कम हुँदै गएको छ । पहाडी क्षेत्रका अभिभावक सुविधा खोज्दै तल्लोभेगमा बसाइ बस्ने गरेको पाइन्छ ।  एकसय भन्दा कम विद्यार्थी भएका १५ सामुदायिक विद्यालयमा कुल सातसय ८६ विद्यार्थीमात्र रहेका छन् । यी विद्यार्थीका लागि सरकारले ६२ जना शिक्षक परिचालन गरिरहेको छ । यो तथ्याङ्क हेर्दा एकजना शिक्षकको भागमा करिब १२ जना विद्यार्थी पर्दछन् ।

नेपालको शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर १ शिक्षक, पहाडमा ४५ विद्यार्थी बराबर १ शिक्षक र तराई तथा उपत्यकामा ५० विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने व्यवस्था गरेको छ । 

शिक्षा नियमावलीको नियम ७७ बमोजिम सामुदायिक विद्यालयको प्रत्येक कक्षामा विद्यार्थीसँख्या तराईमा ५०, पहाडमा ४५ र  हिमालमा ४० भन्दा कम भएको अवस्था भएमा विद्यालय मर्ज आवश्यक देखिए गर्न सकिने स्पष्ट उल्लेख गरिएको छ । 

गैँडाकोटका केही बाहेक अधिकांश विद्यालयका प्रत्येक कक्षाकोठमा ५० भन्दा कम नै विद्यार्थी रहेका छन् । यसको आधारमा गँैडाकोटमा नजिकका विद्यालय मर्ज गर्नुपर्ने देखिएको सरोकारवाला बताउँछन् । यसका लागि गँैडाकोट नगरपालिकाले विद्यालयको अवस्था अध्ययन गर्न कार्यदलपनि गठन गरेको थियो ।

२०८१ बैशाख १३ गते बसेको १५ औँ नगरकार्यपालिकाको बैठकले नगरभित्रका शैक्षिक गतिविधि नियमन, नियन्त्रण, सुझाब तथा सहजीकरणका लागि नगरस्तरीय “विद्यालय शिक्षा संरचना व्यवस्थापन तथा शैक्षिक सुधार सुझाव कार्यदल” गठन गरेको थियो । 


यस कार्यदलमा नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागाईं संयोजक रहनुभएको छ भने सदस्यहरुमा नगर शिक्षा समिति सदस्य दोलराज पाण्डे, विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशव सापकोटा, शिक्षाक्षेत्रका पूर्व उपसचिव गोपालप्रसाद भण्डारी, गैँडाकोट ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदी रहेका छन् । 


यस कार्यदलले अध्ययन गरेर प्रतिवेदन तयार गरिसकेको छ । कार्यदलले अध्ययन गरेर तयार गरिसकेको प्रतिवेदन कार्यान्वयनका लागि गैँडाकोट नगरपालिकाको ९ औँ कार्यपालिका बैठकले १५ सदस्यीय समिति गठन गरेको नगर शिक्षा अधिकारी बालकृष्ण चापागाईं बताउनुहुन्छ । कार्यदलको प्रतिवेदनमा विद्यार्थीसंख्या न्यून भएका विद्यालयहरुलाई मर्जको सन्दर्भमा विकल्पहरु प्रस्तुत गरेको बताउनुभयो ।

पहाडी क्षेत्रमा भौगोलिक समस्या हुन्छ, त्यहाँ मर्जमा गइहाल्न सकिदैन । तर कुनै विद्यालयमा कक्षा ६ मा विद्यार्थीकम छन्, हिँडेर नजिकको अर्को विद्यालयमा जान सक्छन् भने डाउन साइजिङ गर्न सकिने सुझाब कार्यदलले दिएको नगर शिक्षा अधिकारी डा. चापागाईं बताउनुहुन्छ । तल्लो भेगका विद्यालयहरुमा विद्यार्थी संख्या कम छन्, नजिकमा अर्को विद्यालय छ भने त्यस्ता विद्यालय मर्जमा जान सक्ने गरि सुझाब दिएको छ । यसलाई नीतिगत, व्यवहारिक, सामाजिक सबै पक्षबाट कसरी सान्दर्भिक बनाउन सकिन्छ भनि पछि गठन भएको १५ सदस्यीय समितिले काम गरिरहेको नगर शिक्षा अधिकारी डा. चपागाईंले बताउनुभयो । कार्यदलले विद्यालय समायोजन, दरबन्दी समायोजन, कक्षा स्तरोन्नति तथा कक्षा घटुवा, आवासीय विद्यालय सञ्चालनलगायत विषयमा सुझाव पेस गरेको कार्यदल संयोजकसमेत रहनुभएका नगर शिक्षा अधिकारी डा. चापागाईंले बताउनुभएको छ । 


गैँडाकोट नगरभित्रका विद्यार्थी सँख्या न्यून भएका विद्यालयहरू नजिकको विद्यालयमा समायोजन हुन सक्ने, विद्यार्थीसँख्या न्यून रहेको खण्डमा विद्यालयको तह घटाउन सकिने लगायतका थुप्रै सुझाब अध्ययन कार्यदलबाट प्राप्त भएको र नियम संगत तवरबाट अघि बढ्ने गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभएको छ ।