सर्वोच्चले माग्यो छविलाल जोशीलाई थुनामा पठाउनुको कारण

२०८२ बैशाख २ मंगलबार १६:५२:०० मा प्रकाशित

काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेस गर्न सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरको बुटबल इजलासको नाममा आदेश जारी गरेको छ ।


न्यायाधीश विनोद शर्माको इजलासले छविलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो ।


उच्च अदालत तुलसीपुरको बुटबल इजलासले गत साता रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउन आदेश गरेको थियो ।

 

बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपित एवं पूर्वडीआईजी जोशीले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका थिए । त्यही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले प्रतिवेदन मगाउन आदेश जारी गरेको हो ।


सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेयता जोशी थुनामै छन् । जिल्ला अदालत रुपन्देहीले उनलाई थुनामा पठाउनुपर्ने भनी गरेको आदेशलाई उच्च अदालतको बुटबल इजलासले पनि सदर गरेको हो ।