६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा ९ बुँदे नवलपुर सहकारी घोषणा

नवलपुर । ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा ९ बुँदे नवलपुर सहकारी घोषणा गरिएको छ । प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा, जिल्ला सहकारी संघ लिमिटेड, जिल्ला बचत तथा ऋण सहकारी संघ लि तथा कावासोती सहकारी समन्वय मञ्चको संयुक्त आयोजनामा भएको कार्यक्रममा ९ बुँदे नवलपुर सहकारी घोषणा गरिएको जिल्ला सहकारी संघ लि.का सचिव श्यामसुन्दर लामिछानेले जानकारी दिनुभयो । सो कार्यक्रम कावासोती खानेपानीको सभाहलमा मर्यादित सहकारी समुन्नत समाज भन्ने नाराका साथ आयोजित गरिएको थियो ।
९ बुँदे नवलपुर सहकारी घोषणामा संस्थामा सुशासन कायम गर्ने, सहकारीहरूको एकीकरणलाई प्राथमिकता दिने, संचालन समिति र उच्च व्यवस्थापनलाई फिट एण्ड प्रोपर टेस्टको आधारमा गठन गर्ने, महासंघबाट जारी संस्थागत संस्कृतिको मापदण्ड पालना गर्ने, सहकारी सिद्धान्त र मूल्य मान्यता प्रयोग गर्ने, वित्तीय सहकारीहरूलाई कारोबारको आधारशिला सिर्जना गराउन सहयोग गर्ने, वित्तीय सहकारीलाई जगेडा कोषमा आधारित संस्था बनाउने, सहकारी ऐन तथा नियमावलीलाई समयानुकूल परिमार्जनमा जोड दिने र सम्पूर्ण विषयगत सहकारीहरूको एकीकृत नेतृत्व स्थापना गर्ने रहेका छन् ।
जिल्ला समन्वय समिति, नवलपुरका अध्यक्ष बाबुराम विश्वकर्माले नवलपुर जिल्लामा परिचालित ३९ अर्ब पुँजी सुरक्षित गर्न थप सुशासन प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले जनतालाई उद्यमशीलता तर्फ उन्मुख गराउँदै आर्थिक समृद्धि हासिल गर्न सुशासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ लि.का उपाध्यक्ष तुलमणि पौडेल, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका अधिकृत चोलाकान्त वाग्ले, तथा सहकारी विज्ञ एवं किसान साकोसका प्रमुख कार्यकारी अधिकृत संजय राज तिमिल्सिनाले कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो ।
जिल्ला सहकारी संघ लि.का अध्यक्ष तिलक प्रसाद पराजुलीको अध्यक्षता र जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक होमनाथ जैसी, कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल, नेफ्स्कूनका सञ्चालक गोपाल प्रसाद गौतम लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य जिल्ला सहकारी संघ लि.की उपाध्यक्ष खीना कुमारी भुसालले राख्नुभएको थियो भने धन्यवाद ज्ञापन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष बद्रीनाथ नेपालले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ लि.का सचिव श्यामसुन्दर लामिछानेले सहजीकरण र सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रमको क्रममा ९ बुँदे नवलपुर सहकारी घोषणापत्र पारित गरिएको छ। साथै, सहकारी अभियान र कावासोती नगरपालिकाबीच ५ सदस्यीय राष्ट्रिय सहकारी दिवस भव्य रूपमा मनाउने कार्यदल गठन गर्ने निर्णय भएको थियो । सो कार्यदलमा जिल्ला सहकारी संघ लि.का उपाध्यक्ष तुलमणि पौडेल संयोजक रहनुभएको छ भने सदस्यहरूमा जिल्ला सहकारी संघ लि.का सचिव श्यामसुन्दर लामिछाने, जिल्ला बचत तथा ऋण सहकारी संघ लिका सचिव सालिकराम कोईराला, कावासोती सहकारी समन्वय मञ्चका अध्यक्ष कृष्ण राज सिग्देल, र कावासोती नगरपालिका सहकारी अधिकृत मञ्जु डुम्रे रहनुभएको छ।