सल्यानमा गाडीको ढोकाबाट लडेर २८ वर्षीय युवकको मृत्यु

२०८१ चैत २१ शुक्रबार १२:२१:०० मा प्रकाशित

सल्यान । सल्यानमा गाडीको ढोकाबाट लडेर एक यात्रुको मृत्यु भएको छ। गुडिरहेको गाडीको ढोकाबाट लडेर सुर्खेतको सिम्ता गाउँपालिका- ५ का २८ वर्षीय गणेश बुढाको मृत्यु भएको हो ।


सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार बिहीबार साँझ ६ बजे कर्णाली प्रदेश ०२००१ ख ०७९० को फोर्स गाडीको ढोकामा झुन्डिएर यात्रा गरिरहेका बुढा गाडीको ढोकाबाट लडेका थिए ।


लडेर गम्भीर घाइते भएका बुढालाई उपचारका लागि सुर्खेतको मेहलकुना अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो। घटनाबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।