मौलाकालिका संस्कृत गुरुकुलम्मा अभिभावक अन्तरक्रिया

२०८१ पौष २० शनिबार १६:१७:०० मा प्रकाशित

गैँडाकोट । मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलम् गैँडाकोट १ को अभिभावक भेला एवम् अन्तरक्रिया कार्यक्रम मौलाकालिका मन्दिरको सभाहलमा सम्पन्न भएको छ । 

विद्यार्थीहरुका अभिभावकहरुको सहभागितामा भएको सो कार्यक्रमका प्रमुख अतिथि धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले गुरुकुलको भावी योजनाका बारेमा जानकारी दिँदै समय अनुसारको सूचना प्रविधि सहितको शिक्षा प्रदान गर्नका लागि गुरुकुलले पहल गर्ने कुरा बताउनुभयो । 

गुरुकुलका अध्यक्ष हरिप्रसाद सापकोटाले विद्यालयले शैक्षिक गुणस्तर बृद्धिका लागि बिशेष योजना बनाएको बताउँदै गुरुकुलको शैक्षिक अवस्था सुधारमा कुनै कमि नगर्ने बताउनुभयो । गुरुकुलका प्रधानाध्यापक टंकनाथ रिजाले कार्यक्रमको सहजीकरणका साथै गुरुकुलको शिक्षालाई व्यवहारिक र समयानुकुल बनाउनका लागि आवश्यक योजनाको बिश्लेषण गर्नुभएको थियो । 

कार्यक्रममा धार्मिक सेवा समिति सचिव श्यामसुन्दर पराजुली, अनुगमन समिति संयोजक काशीनाथ कंडेल, लेखा समित संयोजक शोभाकान्त काफ्ले, मन्दिर सचिव तथा विद्यालय समिति सदस्य चोभाकुमारी शर्मा, विद्यालय समिति सदस्य कमलापति शर्मा, अभिभावक बालकृष्ण चापागाईँ, कृष्ण पराजुली, र गिता अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम गुरुकुल व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

ताजा खबर