विद्यार्थीको मूल्याङ्कन घरमा गरेको कामको आधारमा
नवलपरासी पूर्व । अब विद्यार्थीले घरमा गरेको क्रियालापको आधारमा नम्बर पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिने निर्णय गरेको छ । मूल्याङ्कन विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ । १५ दिनभित्र विज्ञसँग छलफल गरेर विधिको प्रस्ताव ल्याउन पाठ्यक्रम विकास केन्द्रलाई शिक्षा मन्त्री विद्या भट्टराईले निर्देशन दिनुभएको छ । परीक्षामा कति लेखेको छ भन्ने आधारमा मात्र मूल्याङ्कन गर्न नहुने मन्त्री भट्राईले बताउनुभएको छ ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले मूल्यांकनको विधि छिट्टै बनाउने बताउनुभएको छ । शैक्षिकसत्र २०८२ देखि लागू गर्ने गरी काम गरिरहेको श्रेष्ठले बताउनुभएको छ । मन्त्रालयले श्रम र सिपलाई सम्मान गर्न राम्रा कुरालाई पाठ्यक्रममा समावेश गर्न लागेको छ । घरको सरसफाई, खेतबारीको काम, अभिभावकलाई गर्ने सहयोग, आदरसत्कार, सहयोग र सद्भावजस्ता कामका आधारमा विद्यार्थीको मूल्याङ्कन हुनेछ । विद्यार्थीले खेतबारी जोते, घाँस काटे, भात–तरकारी पकाए, भाइ–बहिनी हेरे, बजारमा किनमेल गरे, लुगा सिलाए वा आरनमा काम गरे पनि नम्बर पाउनेछन् । विद्यार्थीले लुगा सिउने र आरनमा काम गर्ने जस्ता जीवनोपयोगी शिक्षा घरमा सिकिरहेको भएमा त्यसलाई पनि आन्तरिक मूल्याङ्कनमा जोडिने छ ।
कक्षा ४ देखि ८ सम्म ५० नम्बरको आन्तरिक र ५० नम्बरको बाह्य परीक्षा हुन्छ । कक्षा ९ देखि १२ सम्म २५ को आन्तरिक र ७५ को बाह्य परीक्षा हुन्छ । आन्तरिक मूल्यांकनमा केही अंक छुट्टाएर घरको कामलाई नम्बर दिन लागिएको हो । अहिले पनि निरन्तर विद्यार्थी मूल्याङ्कनको अवधारणा लागू गर्दा कतिपय विषयमा अभिभावकसँगको समन्वय आवश्यक हुन्छ । यता तर्फ शिक्षक तथा विद्यालयको चासो भने देखिदैन । बाध्यात्मक मूल्याकंन विधि बनेको खण्डमा कार्यान्वयनमा आउने संभावना भने रहन सक्ला ।