माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

२०८१ पौष ५ शुक्रबार ०८:५९:०० मा प्रकाशित

 । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भैँसेपाटीस्थित गौतम निवास पुगेर भेटवार्ता गर्नुभएको हो ।

एकीकृत समाजवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकमा ‘पार्टी एकता राष्ट्रिय अभियान’लाई आफ्नो पार्टीमा समाहित गरी संयोजक गौतमलाई पार्टीमा ल्याउने विषयमा छलफल भएको छ ।

नेपाल र गौतमबीचको भेटवार्तामा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बलराम बाँस्कोटा र गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता डिबी कार्कीसहित सहभागी थिए । उक्त भेटमा दुई पार्टीबीच एकता गर्ने प्रस्ताव तयार गर्ने र छिट्टै एकता गर्नेबारेमा सकारात्मक छलफल भएको एकीकृत समाजवादीको सचिवालयले जनाएको छ ।

करिब दुई घण्टा भएको भेटवार्तामा नेताहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता तथा सहकार्यलगायत विषयमा छलफल भएको छ ।

गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ स्थापना गरी वामपन्थी दललाई एकताबद्ध गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आउनुभएको छ ।