गैँडाकोटमा ‘घरायसी फोहोर पृथकीकरणका लागि अभिमुखीकरण कार्यक्रम’ सम्पन्न

२०८१ पौष ५ शुक्रबार १९:०३:०० मा प्रकाशित


नवलपरासी पूर्व । समाजमा घटेका  विभिन्न घटनाहरू तथा सामाजिक चुनौतीहरूलाई नियाल्दै आएको सहमती संस्थाले डब्लु डब्लु एफको सहकार्यमा २०२३ अप्रिलदेखि चितवनमा खगेरी जलाधार क्षेत्र र नवलपुरमा गुन्द्रही जलाधार क्षेत्रमा जलाधार व्यवस्थापन लगायतका कार्यहरु गर्दै आइरहेको छ । देवघाट क्षेत्र तथा नारायणी नदी किनारमा हुने फोहोरको व्यवस्थापन गर्ने उद्देश्य राखेको संस्थाले फोहोर व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । 


यस्तै सहमती संस्थाद्वारा डब्लु डब्लु एफ नेपालको साझेदारीमा सञ्चालित ‘प्रकृतिमा आधारित समाधान–ट्रिपल बेनिफिट परियोजना’ मार्फत ‘नदीसँगै हामी’ अभियान अन्तर्गत एस.डि.आर.सी को नेतृत्वमा शुक्रबार घरायसी ‘फोहोर पृथकीकरणका लागि अभिमुखीकरण कार्यक्रम’ सम्पन्न गरेको छ ।


गैंडाकोट ८ स्थित नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा सहमती संस्थाका अध्यक्ष होमनाथ सुवेदीले प्रकृतिको संरक्षणका लागि सहमती संस्थाले विभिन्न क्रियाकलापहरू गर्दै आएको र प्रकृतिको संरक्षण गर्नु सबै नागरिकको कर्तव्य रहेको बताउनुभएको छ ।

 
त्यस्तै, गैंडाकोट ६ का वडा अध्यक्ष सुवास चापागाईंले फोहोरको गुणस्तरीय व्यवस्थापनका लागी विभिन्न ठाउँमा पुगी यस सम्बन्धी चेतनामुलक कार्यहरु गरेको बताउनुभयो । उहाँले घरबाट निस्किएका वा अन्य फोहोरलाई नदीनालामा नफ्याँकी घरमैे मल बनाई प्रयोग गर्ने र नदीनालाको सरसफाई र संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।


कार्यक्रममा लायन्स क्लब अफ मौलाकालिकाका अध्यक्ष गोपीचन्द्र ज्ञवालीले कम्पोष्ट मलको बारेमा बताउनुभयो । अध्यक्ष ज्ञवालीले कम्पोष्ट मल कसरी बनाउने ?, कम्पोष्ट मलको प्रयोग कसरी गर्ने ? र यसबाट कस्तो लाभ लिन सकिन्छ भन्ने विषयमा चर्चा गर्नुभयो ।


कार्यक्रमको सहजीकरण गर्दै बेटर चितवनका संयोजक इन्जिनियर सागर कार्कीले फोहोरमैला  व्यवस्थापन, कुहिने र नकुहिने फोहोर वर्गाीकरण एवम् घरमा भएको फोहोर घरमा नै कसरी कम गर्ने भन्ने विषयमा जानकारी गराउनुभएको थियो । साथै विभिन्न प्रयोगमा आउने प्लाष्टिकलाईं कसरी बजारीकरण गर्ने भन्ने विषयमा पनि जानकारी दिनुभयो ।
कार्यक्रममा पारिजात पार्कका अध्यक्ष महेन्द्र सापकोटा, सचिव लक्ष्मण चापागाईं, प्रकृतिमा आधारित समाधान–ट्रिपल बेनिफिट परियोजना’ का संयोजक खेमराज खनाल, ५ वटा वडाका जनप्रतिनिधिहरु र स्थानीयको सहभागिता रहेको थियो ।