लगानी सम्मेलनबारे हल्लाको पछि नलाग्न कोशीका मुख्यमन्त्री कार्कीको आग्रह ।
कोशी प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनका विषयमा कोशी प्रदेश सभाको सुशासन तथा योजना समितिको बैठकमा सांसदहरूले मुख्यमन्त्रीसँग जवाफ मागेका छन् । एउटा निजी संस्थालाई लगानी सम्मेलन गर्ने जिम्मा दिने विषय बाहिर आएको भन्दै सांसदहरूले समितिको बैठकमा सरकारको जवाफ मागेका हुन् । आज भएको बैठकमा लगानी सम्मेलनबारे सत्तापक्ष र प्रतिपक्षबीच प्रश्नोत्तर चलेको थियो । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले गर्ने कार्यक्रम सरकारकै रूपमा हुनुपर्ने बताउनुभयो । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सरकारले गर्न लागेको कामलाई गलत प्रचार नगर्न आग्रह गर्दै हल्लाको पछाडि नदौडन आग्रह गर्नुभयो । नेपाली काँग्रेसका दलका उपनेता हिमाल कार्कीले बढी भन्दा बढी सहभागी, बढी प्रोजेक्ट, बढी भन्दा बढी लगानी भित्र्याउने गरि लगानी सम्मेलन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो । सांसद नारायण बुर्जा मगरले विवादित विषयलाई समाधान गरेर जान आग्रह गर्नुभयो । सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा लगानी सम्मेलन गर्ने बारेमा कुनै पनि संस्थाको ब्यानरमा नभइ सरकारले नै गर्ने स्पष्ट पार्नुभएको छ । प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले लगानी सम्मेलनमा ३७ वटा योजना सोकेसमा राख्ने तयारी गरेको र अरु परियोजनाहरू थप्न पनि खुल्ला भएको जानकारी गराउनुभयो ।