चितवनमा ५ दिनदेखि जारी कृषि मेलामा १४ हजारले गरे अवलोकन ।

२०८१ पौष ४ बिहीबार २१:३३:०० मा प्रकाशित

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा ५ दिनदेखि जारी दोस्रो संस्करणको कृषि प्रदर्शनी तथा कृषक मेला– २०८१ सम्पन्न भएको भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकाय परिसरमा मंसिर २९ बाट सुरु गरिएको मेला आज पुष ३ गते समापन गरिएको हो ।  मेला आयोजक समितिका सचिवालय संयोजक एवम् विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा.डा. ऋषिराम कट्टेलले मेला अवधिभर १४ हजार सहभागि भएको जानकारी दिनुभयो । उहाँले मेलामा १५ लाखको कारोबार भएको बताउनुभयो । मेलामा  आर्थिक कारोबार गर्नुभन्दा पनि कृषि प्रविधि, ज्ञान र सीपको हस्तान्तरण बढी महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
महोत्सवमा विश्वविद्यालयका विद्यार्थी, विभिन्न संकाय, कृषि उद्यमीका साथै व्यावसायिक स्टल गरी जम्मा ९८ वटा स्टल रहेका थिए । मेलामा निःशुल्क माटो परीक्षण, रैथाने बाली प्रदर्शन, कृषि उपकरणको प्रदर्शनी, निःशुल्क बाली एवम् पशु उपचार शिविर, बीउ बिजन परीक्षण, बाली बीमा र कृषि कर्जा सम्बन्धि परामर्श, सरोकारवाला बीच विविध विषयमा अन्र्तक्रिया तथा बहस, नृत्य प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता लगायतका गतिविधि  भएका थिए । मेला आयोजक समिति संयोजक एवम् विश्वविद्यालयका उपकुलपति एवम् रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले किसानको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो ।