बैँकिङ प्रणालीबाट भत्ता वितरणले वृद्धवृद्धालाई सास्ती

२०८१ मङ्सिर २२ शनिबार ०६:५८:०० मा प्रकाशित

डडेलधुरा । सरकारले २०७७ सालबाट सामाजिक सुरक्षा भत्ता वितरणमा बैँकिङ प्रणाली अनिवार्य गरेको छ । 

यसले डडेल्धुराको अमरगढी नगरपालिका ६ छचोडा गाउँका ४० घरपरिवारलाई  सामाजिक सुरक्षा भत्ता लिन बैँक नै धाउनुपर्दा समस्या भएको छ । 

छचोडा गाउँ जिल्ला सदरमुकामबाट १३ किलो मिटरको दुरीमा पर्छ । कुनै समय १ सय भन्दा बढी घरपरिवार रहेको छचोडा गाउँका नागरिकहरू कमाउनको लागि भारततिर गएपछि अहिले ४० परिवार मात्रै छन् । 

गाउँबाट सदरमुकाम पुग्न यातायातको समस्या हुने गरेको स्थानीयबासीको भनाइ छ ।  

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीबाट बदमासी भएको भन्दै लाभग्राहीलाई बैङ्क खातामार्फत भत्ता दिने नीति बनाएको हो । 

जसअनुसार सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीले स्थानीय तहसँगको समन्वयमा सदरमुकाममा रहेको बैङ्कमा खाता खोल्नुपर्छ । 
तर अशक्तलाई घरमै भत्ता दिने व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । सरकारले सामाजिक सुरक्षा भत्ताबापतको रकम सोही खातामा सिधै जम्मा गरिदिने व्यवस्था गरेको छ । 

कागजी प्रक्रियाबारे अनभिज्ञ रहने उनीहरूलाई बैंकमा खाता खोल्ने मेसो पहिल्याउनै हम्मे हम्मे पर्ने गरेको छ ।