सरकारले व्यावसायिक कुखुरापालन सर्वेक्षण गर्ने

२०८१ मङ्सिर ११ मंगलबार ०७:३३:०० मा प्रकाशित


नवलपरासी पूर्व । सरकारले व्यावसायिक कुखुरापालनबारे सर्वेक्षण गर्ने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१÷८२ सम्बन्धी तयारी पूरा भएको छ । यसका लागि प्रश्नावली समेत तयार भएको कार्यालयले जनाएको छ । तथ्यांक समन्वय कार्यालय मार्फत सूचीकरणको काम समेत सुरु गरिएको कार्यालयले जनाएको छ ।

सरकारले कुखुरामा नेपाल आत्मनिर्भर भएको बताउँदै आएको छ । तर, एकीकृत तथ्यांक अभाव थियो । सर्वेक्षणले यो अभाव पूरा गर्ने अपेक्षा छ । कार्यालयका अनुसार यसै वर्ष मत्स्य तथ्यांक संकलन तयारी समेत गरिएको छ । मत्स्य तथ्यांक संकलन सम्बन्धी प्रश्नावली तयारी गरी परीक्षणको काम समेत सकिएको छ ।  सरकारले निजी शिक्षण संस्थान सर्वेक्षण समेत यसै वर्ष गर्ने भएको छ ।

यसका लागि निर्देशक तथा प्राविधिक समिति गठन भएको छ । जसको प्रश्नावली परीक्षणको काम समेत भइसकेको कार्यालयले जनाएको छ ।