प्राकृतिक सौन्दर्यमा अद्वितीय चन्द्रागिरि
मनभरि खुसी मस्तिष्कभरि एक हप्तासम्मको वैदेशिक भ्रमण, साथीहरूको रमाइलो तथा आनन्दमय वातावरणसहित छुटेका हामीलाई काठमाडौँको चन्द्रागिरिसँग पनि मितेरी लगाउने इच्छा जाहेर भएको थियो । सोहीअनुसार हामीले २०८१ कार्तिक ८ गतेको पहिलो गन्तव्य चन्द्रागिरिलाई छनोट गरेका थियौँ । प्राकृतिक स्रोत र साधनको दृष्टिले नेपाल विश्वमा अद्वितीय छ भन्दाभन्दै पनि भौतिक स्रोतमा आँखा लगाउने मानवीय प्रवृत्तिबाट कोही पनि अछुत रहदोँ रहेनछ । त्यसकै फलस्वरुप २०८१।०७।१ गते गैँडाकोटका केही शैक्षिक क्षेत्रमा संलग्न व्यक्तिहरूको समूहमा (२३ जना) काठमाडौंबाट पर्यटकीय दृष्टिकोणले परिचित अजरबैजानका लागि प्रस्तान गरेका थियौँ । त्यहाँ हाम्रो लागि छुट्याइएका सबै भौतिक स्रोत र साधनको अवलोकन गर्यौँ । त्यहाँका विभिन्न दृष्यहरूको अवलोकन पछि जन्मभूमि फर्किनु नै थियो । सोहीअनुसार कार्तिक आठ गते बिहान अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको भूमिमा स्पर्श गर्यौँ । भौतिक उन्नति अथाह देखेर हाम्रो मन हिमालमा नाचेको मयूरपङ्खा झै भएको थियो तर प्राकृतिक स्रोत र साधनमा नेपालको विकल्प नभएको हामी सबैले महसुस गरेका थियौँ ।
“नजिकको तीर्थ हेला” भन्ने उखानलाई यस सन्दर्भले सार्थक पारेको छ भन्ने पनि हामीले बुझेका थियौँ ।प्राकृतिक छटाले भरिपूर्ण नेपालका विभिन्न उपमाहरूलाई लात मारेर लाखौँ धनरासी खर्चेर पातालतिर भाषिने नेपालीहरु दिनानुदिन हजारौँको संङ्ख्यामा रहेको तथ्य छ । वैदेशिक भ्रमण होस् वा शैक्षिक तथा रोजगारको सिलसिलामा होस् जन्मघरको उर्वर भूमिमा वनमारालाई रजाई गर्न दिएर रोजगारीको लागि भौतारिएका कैयौ बीस बाइसका नेपाली युवायुवतीहरू मध्ये मैले केहीसँग दुबैको सार्जाह विमानिस्थलमा कामगर्ने नेपाली कामदारहरूसँग अन्तरङ कुराकानी पनि गरेँ । मैले मेरै आँखाले देखेका र भेटेकालाई अरू त के कति कस्तोमा कहाँ छन् थाहा भएन । दुबैको सार्जाह विमानस्थलका विभिन्न विभागमा कामगर्ने केही युवायुवतीहरूसँग तलबभत्ता खानपानको बारेमा सोधेँ । उनीहरूले सञ्चित गर्ने रकम र तरिका बारे थोरै कोट्याउन सकेँ ? शौचालयमा भेटेका नेपालबाट रोजगारका लागि गएका बहिनीहरूसँग । त्यत्रो धनरासी खर्चेर गएको वैदेशिक रोजगारीको त्यो आम्दानीबाट रकम बचाउँन उनीहरूलाई फलामका चिउरा चपाउन झै कठिन भएको अनुभूति मैले गरेँ । त्यहाँको खानपान अनि महङ्गीलाई नियालेर हेर्दा अनि नेपाली रूपियाँमा रुपान्तरणगर्दा । उनीहरूलाई कस्तो छ थाहा छैन तर मैले त्यो अनुमान गरेँ एक हप्ते पर्यटनका लागि हिँडेकी मान्छेले ।
सम्पन्न राष्ट्र भौतिक उन्नतिमा रमेपनि नेपालको अथाह आयआर्जन गर्न सक्ने प्राकृतिक स्रोतसाधन सम्झेर मन मयूरझै नाचेर आयो ।पटकपटक अवसर आउँदा पनि समयानुकूल हुन नसकेको त्यो स्थानसम्म पुग्ने अवसरबाट वञ्चित यो तनलाई त्यहाँसम्म पु¥याउने अवसर अजरबैजानको भ्रमणपछि मिल्ने भयो । त्यो अनुपम प्राकृतिक छटाले भरिपूर्ण काठमाडौँले शिरताजको रुपमा पहिरिएको चन्द्रागिरि पर्वत । भ्रमणको नेतृत्व गर्नेले सम्पूर्णलाई र सँगै एक हप्ता सहयात्रामा रमाउने सबैलाई हृदयदेखि नै सबैले आभार प्रकट गर्यौँ । सकुशल सबै जन्मभूमिमा पाइला राख्न सफल भएकोमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिएर काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलबाट २३ जनाले आआप्mनो गन्तव्य पहिल्यायौँ ।
त्यो दिन गन्तव्यलाई हामीले फरक दिशातर्फ लैजाने पूर्व योजना थियो । सोही अनुसार गैँडाकोटबाट छोरा काठमाडौँ गएका थिए। हामी द्वय अनि छोरा कार्तिक आठ गते बिहान साढे आठमा भेट भयौँ ।
लामो यात्रा अनि अझै आठ घण्टाको सार्जाह विमानिस्थलमा परेको ट्रान्जिटले तन थकित भएपनि मन भने चन्द्रागिरिको टापूमा पुगिसकेको थियो । छोराले चिनेको एउटा कफी हाउसमा पसेर हामी फ्रेस भयौँ । कफी पिएर गन्तव्यतिर लाग्यौँ । पहिलेभन्दा केही मात्रामा बेहुलीजस्तै सिँगारपटार गरेको काठमाडौँबाट हाम्रो यात्रालाई दक्षिण पश्चिमतिर मोड्यौँ । जतिजति गन्तव्यतिर पुग्यौँ केही कतैतिर खाल्टाखुल्टी थोरै साँगुरो बाटो कतै फराकिलो बाटो छिचोलेर हामी मनलाई टापूमा पुर्याउँदै थोरै उकालो उकालो चढेर फेदीसम्म पुग्यौँ । प्रकृतिले सजिसजाउ उक्त स्थानलाई भौतिकवादको हावाले पनि केही छोएको रहेछ । ससाना पार्किङस्थल तर खुल्ला स्थानमा हाम्रो सारथीलाई रोकेर केबलकार स्थलमा गयौँ । पछाडि फर्किदाँ काठमाडौँको केही पश्चिम तथा केही पूर्वोत्तर भागलाई हाम्रो आँखाको नानीभित्र कैद गर्दैमा मनको रहर अझै माथितिर उडिरहेको थियो । बिहानको सूर्यको किरणले काठमाडौँलाई नाटक मञ्चन गर्न तयारी अवस्थामा रहेको नाट्यघर झै बनाएको थियो । झिलिमिली पारेर हाम्रो आँखालाई उपत्यकातिरै कैद गराएको थियो । हामीलाई पनि उक्त केवलकार सुरुहुने स्टेसन नजिक एक दुईवटा फोटोमा आफूलाई टास्न मन लाग्यो ।
नजिकै भएपनि प्रविधियुक्त स्थानमा अनलाइन टिकटको सुविधा लियौँ । त्यो दिन फाट्टफुट्ट स्वदेशी तथा विदेशी अनुहार मात्र उक्त स्थानमा भएको हुँदा केवलकारका लागि लामबद्ध भएर कुर्नु परेन । आठ जनाको भारवान क्षमता भएको केवलकारको डव्वामा हामी सानो बच्चासहित छ जना थियौँ। समुन्द्री सतहबाट करिब २५४० मिटर उचाइ भएको पर्वतको उक्त शिरमा पुग्न केवलकाद्वारा ९ देखि १४ मिनेटको समय रहेछ । हामीलगायत हरेक यात्रुलाई त्यो समय अझै तन्किने रवरझै तन्किदिए हुन्थ्यो जस्तो लागेको बुझियो । अझै यसभित्र बसेर हिमालयदेखि तराइसम्मका सबै दृश्यहरू आँखामा सदाका लागि कैद गरौँ झै लागेर समय बढी भए हुन्थ्यो जस्तो लाग्ने रहेछ । त्यो समयमा लुटेको आनन्दमय वातावरण अत्यन्तै फरक हुँदो रहेछ । एक अर्कालाई हेरेर बाहिरी दृश्य हेर्दा फरक आनन्द लाग्ने रहेछ । सोहीअनुसार काठमाडौँ शहरलाई आँखाको नानीभित्र अट्टाएसम्म कैद गर्दै हाम्रो सारथी केवलकारभित्र बसेको आनन्द हामीले लुटिरहेका थियौँ ।
नेपाललाई प्रकृतिले नासोको रूपमा प्रदान गरेको प्राकृतिक विविधता र त्यसभित्रको एक विलक्षण छटा रहेछ चन्द्रागिरि । प्रकृतिले सिगाँरपटार गरेको हरियाली वनका विभिन्न ज·ली कल्पवृक्षको सुगन्ध केवलकारको डव्बाबाट लिँदै जति माथि जान्छौँ त्यति आनन्द लुटिरहेका थियौँ । प्रकृतिले स्वयम सिँगारेको रहेछ । त्यसको सुन्दरताको उचाई। हरियाली पना, स्वच्छ हावाको आनन्द काठमाडौँको आकाशले पनि लुटिरहेको आभास भयो । म भने तीन दिन अगाडि अजरबैजानको राजधानीबाट ३५० किलोमिटर टाढा गवाला टाउनमा रहेको तुफान दाग केवलकारको अनुभूति र हाम्रो नेपालको राजधानी काठमाडौंको शिरमा रहेको चन्द्रागिरि केवलकारको दृश्यावलोकनको भिन्नतामा आफूलाई डुलाउन व्यस्त थिएँ। जति हेर्दै गएँ चन्द्रागिरिसँग प्रेम गास्न थालेँ । शिरमा रहेको भालेश्वर मन्दिरको दृश्यसँग मेरो शरीरका नसानसामा प्रेमको उत्तेजना सलबलाउन थाल्यो । अन्तरात्माबाट विस्फोट हुन लाग्यो आहा १ मेरो देश, मेरो स्वर्ग,मेरो प्रेम ,मेरो मुटु, मेरो जन्मभूमि, मेरो कर्मभूमि । अनेकौँ काँचुली फेरेर आएको देशहरूको अवलोकन गरेर आएपनि मलाई भने मेरै देशको चन्द्रागिरिको अनगिन्ती दृश्यले खिचेर स्वर्ग नेपालमै रहेछ भन्ने अनुभूति गरायो ।
प्राकृतिक आनन्दमय वातावरणसहित यसको धार्मिक तथा ऐतिहासिक मान्यता पनि रहेछ । अन्य मन्दिरभन्दा पृथक पूजाविधि भएको पूजागर्ने विधि सफा रहेछ । शिर छोपेका अरूभन्दा पृथक गेरू वस्त्र फहिरका पुजारीले लामबद्धरूपमा धैर्यपूर्वक पूजा विधि गरिदिएपछि रुद्राक्षको माला लगाइदिएर सफा तरिकाले निधारमा टीका लगाएर आशीर्वाद दिने परम्परा रहेछ । हँसिला अनि शिरमा पनि गेरू वस्त्रले छोपेका युवा पुस्ताका पुजारीले अत्यन्तै धैर्यपूर्वक सबैका सामान लिएर विधिपूर्वक पूजागरिदिएर सफा तरिकाले टीका लगाइदिए पछि मनमा आनन्द आयो । त्यो चन्द्रागिरिको सुन्दर पक्ष लाग्यो ।
धार्मिक मान्यता अनुस्वरूप भगवान महादेव सतीदेवीको मृत शरीर लिएर भौतारिँदै पृथ्वी सैर गरेको बेला पार्वतीको भाल वा शिर पतन भएपछि त्यहाँ शिवलिंग उत्पन्न भएको हुँदा भालेश्वर महादेवको मन्दिर भनिएको हो भन्ने किंम्वदन्ती रहेको कुरा त्यही थाहा भयो । त्यहाँ एउटा वर मागेर केही तल झरेर एउटा चाँपी लगाएर छोडेमा मागेको कुरा पुग्छ भन्ने जनविश्वास रहेछ ।
ऐतिहासिक मान्यता अनुस्वरूप पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिला मावलीबाट फर्केर आउँदा भालेश्वर महादेवको दर्शन गरेर एकीकरणको थालनी गरेकाले सफल भएका थिए भन्ने जनविश्वास पनि रहेछ ।सोही अनुरूप पृथ्वीनारायण शाहको ठूलो शालिक पनि मन्दिरको पूर्वोत्तर भागमा निर्माण गरिएको पनि रहेछ । त्यो मूर्तिले चन्द्रागिरि र देशको गरिमालाई बढाएको जस्तो देखिएको थियो ।
चन्द्रागिरिको अर्को अत्यन्तै सुन्दर पक्ष भनेको सूर्योदय र सूर्यास्तको दृश्य प्रतक्ष्य देख्न सकिने रहेछ उक्त स्थानबाट । त्यो दृश्य पक्कै पनि अत्यन्तै रोमाञ्चित देखिन्छ होला ? हामी भने त्यो अवसरको आनन्द लुट्ने सक्ने समयमा त्यहाँ पुगेका थिएनौँ । बिहान साढे दश बजेको आसपासमा हामी त्यहाँ पुग्यौँ । तै पनि हामीले काठमाडौँलाई काखमा राखेको चन्द्रागिरिबाट सगरमाथाको दृष्य स्पस्ट देखेका थियौँ । पूर्व–पश्चिम, उत्तर–दक्षिण सबैतिरको दृश्यावलोकन गरेर आप्mनो मोबाइल फोनमा समेत कैद गरिरहेका थियौँ । उक्त स्थानमा खाने, बस्ने, तथा स–सानो सामग्री किन्ने सुन्दर अनि व्यवस्थित तरिकाले सजिसजाउ एउटा होटल र एउटा पसल रहेछन् । त्यसको दक्षिणतर्फ घोडा सवारदेखि लिएर विभिन्न किसिमका आधुनिकीकरणद्वारा निर्मित खेलहरू रूचिअनुसार खेल्न पाइने व्यवस्था रहेछ । स–सानो वाटिका पनि रहेछ । हामीलाई लाग्यो प्राकृतिक सौन्दर्यतामा चन्द्रागिरि अद्वितीय रहेछ । लगभग साढे दुई घण्टासम्म चन्द्रागिरिको प्राकृतिकसँग चुर्लुम्म डुबेर हामीले आप्mनो निवासतिरको गन्तव्यलाई समातेका थियौँ
नेपालको राजधानीको शिरमा प्रकृतिले उपहारस्वरुप दिएको त्यो ठाँउ आफैमा भरिपूर्ण रहेको छ । हरियाली वातावरण स्वच्छ सफा तथा शितल हावापानी यसको आप्mनै देन रहेछ । तसर्थ यस्तो दृश्यले हामीलाई मनोरञ्जन मात्र नभएर देशकै गरिमालाई बढाएको महसुस भएको थियो । तर त्यो स्थललाई अझै व्यवस्थित बनाएर बढीभन्दा बढी आन्तरिक तथा बाहय पर्यटन भित्र्याउन सके देशका लागि आयआर्जन अझै सिर्जना गर्न सक्ने रोजगारको अवसर बढ्ने र उक्त स्थानका जनसमुदायको व्यापार व्यवसाय मौलाउन सक्ने सम्भावना चन्द्रागिरिसँग रहेको छ ।