जीएसमा वृहत विज्ञान तथा गणित प्रदर्शनी सम्पन्न

२०८१ मङ्सिर ७ शुक्रबार १८:४१:०० मा प्रकाशित

नवलपरासी पूर्व । गैँडाकोट २ मा रहेको गैँडाकोट इङ्ग्लीस स्कुलले वृहत विज्ञान तथा गणित प्रदर्शनी सम्पन्न गरेको छ ।  कक्षा ६ देखि १० सम्मका ४ सय बढि विद्यार्थीको सहभागिता रहेको उक्त प्रदर्शनीमा विज्ञान तर्फ ६८ वटा परियोजना समावेश थिए भने गणित विषयमा ६२ वटा परियोजनालाई समेटिएको थियो ।  


विज्ञान तथा गणित विभागको आयोजना तथा अतिरिक्त परियोजना विभागको प्राविधिक सहयोगमा प्रदर्शनी सम्पन्न भएको हो ।  विद्यार्थीहरूले पाठ्यक्रमले निर्दिष्ट गरेका क्षेत्रहरुमा आफ्ना आफ्ना परिकल्पना प्रस्तुत गरेका थिए ।  कक्षा १ देखि १२ सम्मका १००० बढी विद्यार्थी, अभिभावक, तथा शिक्षक विद्यार्थीहरुले प्रदर्शनीको अवलोकन गरेका छन् । 


उचाइ र दुरीको व्यवहारिक प्रयोग प्रस्तुत गरेका कक्षा १० का संकल्प देवकोटा आफ्नो परियोजना प्रस्तुत गरिरहँदा अत्यन्तै उत्साहित देखिन्थे ।  यता बिज्ञान बिषय अन्तर्गत लाइ–फाई प्रोजेक्ट बनाएका शिशिर पौडेल आफ्नो परियोजना मार्फत बत्तीको प्रयोगले सूचना स्थानान्तरण गर्न सकिने भन्दै दङ्ग देखिन्थे ।  


गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत रामप्रसाद अधिकारीले प्रदर्शनीको अवलोकन पश्चात विद्यार्थीहरुको कामलाई खुलेर प्रशंसा गर्नुभएको थियो ।  उहाँले विद्यार्थीहरूले धेरै मेहनत गरेको भन्दै उहाँहरूलाई उर्जा दिने शिक्षकहरूलाई धन्यवाद दिनुभयो ।