चितवनका खैरहनी र राप्ती नगरपालिकामा दूध ‘जोन’
पशु सेवा कार्यालयले पूर्वी चितवनका दुई पालिकालाई दूध ‘जोन’का रुपमा घोषणा गरेर कार्यक्रमलाई अघि बढाइएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा जोन कार्यक्रम सञ्चालन गरिएको हो ।
पशु सेवा कार्यालयका सूचना अधिकारी सविना मिश्रका अनुसार खैरहनीका १० वडा र राप्तीका आठ वडालाई समावेश गरेर दूध जोन कार्यक्रम लागू गरिएको हो । दैनिक १० लिटर वा सोभन्दा माथि दूध उत्पादन गर्ने निजी फार्म तथा साझेदार संस्थाले अनिर्वाय रुपमा पशु बीमा गरेको हुनुपर्ने गरी कार्यक्रम लागू गरिएको हो । जोन कार्याक्रम लागू हुनका लागि दैनिक ३० हजार लिटर दूध उत्पादन हुने क्षेत्र हुनुपर्ने हुन्छ ।
कार्यक्रम लागू भएका वडाबाट हाल ४६ हजार एक सय तीन लिटर दूध उत्पादन हुँदै आएको छ । जोन कार्यक्रमअन्तर्गत एक किसानले अधिकतम रु ७५ हजार अनुदान पाउनेछन् । जोन कार्यक्रममा ३० जना किसान सहभागी रहेका छन् । गत वर्षसमेत यो कार्यक्रम खैरहनी र राप्ती नगरपालिकामा लागू भएको थियो ।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार त्यसअघि भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा दूध जोन कार्यक्रम लागू गरिएको थियो । यस कार्यक्रममा सहभागी हुने कृषकले व्यवसाय दर्ता, दूध उत्पादनको सहकारीमार्फत प्रमाणित गर्नेलगायत प्रक्रिया पूरा गरेपछि गाई खरिदका लागि रु ७५ हजार अनुदान दिइने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दूध जोन कार्यक्रमले पशुपालन गर्ने कृषकलाई उत्साह थपेको छ ।” किसानलाई आर्थिकसँगै प्राविधिक सहयोग हुने भएकाले यो कार्यक्रम किसानका लागि उपयोगी भएको हो ।रासस