गैंडाकोटवासीलाई चितवन मेडिकल कलेजमा २५ देखि ५० प्रतिशतसम्म छुट 

२०८१ मङ्सिर ५ बुधबार ०७:१०:०० मा प्रकाशित


गैंडाकोट । गैंडाकोटवासीलाई चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा २५ देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ । गैंडाकोट नगरपालिका र चितवन मेडिकल कलेजबीच मंगलबार सम्झौता भएको छ । 


कस्तो सम्झौता भएको छ ?
सम्झौता अनुसार गैंडाकोटवासीले होल बडी चेकअपमा ५० प्रतिशत, अन्य सम्पूर्ण उपचारमा २५ प्रतिशत र अस्पतालको फार्मेसीमा ७ प्रतिशत छुट पाउने छन् । अस्पतालले बजारबाट खरिद गरेको सामानमा भने यो सुविधा नपाईने सम्झौतामा उल्लेख छ ।


यो सुविधा कसरी लिन सकिन्छ ?
यो सुविधा लिनका लागि गैंडाकोट नगरपालिकाले पालिकावासीको विवरण सहितको कार्ड उपलब्ध गराउनुपर्दछ । उक्त कार्डका आधारमा छुट सुविधा लिन सकिन्छ । कार्ड नबन्ने समयसम्म नगरपालिकाको सिफारिसको आधारमा छुट सुविधा पाईने छ ।


कस्तो केसमा छुट सुविधा दाबी पाइने छैन 
स्वास्थ्य बीमा, विपन्न र मेडिकल लिगल केसमा भने गैंडाकोटवासीले छुटको दावी गर्न पाउने छैनन । 


निशुल्क स्वास्थ्य शिविरबारेको सम्झौता यस्तो  छ ?


नगरपालिकाले आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविरमा आवश्यक स्वास्थ्य सम्बन्धी जनशक्ती अस्पतालले उपलव्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त शिविरका लागि खाने, बस्ने, औषधि र यातायात भने पालिकाले व्यवस्था गर्नुपर्ने छ ।


पढाईका लागि विद्यार्थीलाई कस्तो छुट हुन्छ त ?
यसैगरी चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसि क्यान्सर इन्स्टिच्यूटमा संचालित सिटिईभिटिको पढाईमा विद्यार्थीहरुलाई १० प्रतिशत छुटका लागि नगर प्रमुखले सिफारिस गर्न सक्ने जनाईएको छ । 


यो सम्झौता कहिले सम्म लागु हुन्छ ?
नगरपालिकाले आफ्नो कार्यालय परिसरमा सर्वसाधारण व्यक्तिहरुले स्पष्ट देखिने ठाउँमा कम्तीमा पनि ४ वाई ६ फिटको बोर्डमा दुवै पक्ष बीच भएको सम्झौताको जानकारी राख्नु पर्ने सम्झौतामा उल्लेख छ ।  यो सेवा मंसिर ४ गतेबाट लागू भई २०८२ मंसिर ३ गतेसम्म लागू हुने छ । सम्झौतालाई पुनः नविकरण गर्न सक्ने प्रावधान राखिएको छ ।

सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. दयाराम लम्साल र नगरपालिकाको तर्फबाट नगर प्रमुख मदनभक्त अधिकारीले हस्ताक्षर गर्नुभएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल, सिएमसीका निर्देशक प्रशासक प्रताप देवकोटा र सिएमसी फर्मेसीका सरोजप्रसाद ज्ञवालीले साक्षीमा हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा नगर प्रमुखका स्वकीय सचिव रोशनभक्त अधिकारी, गैँडाकोट नगरपालिका वडा नं. ११ का अध्यक्ष गोविन्द प्रसाद सुवेदी लगायतको उपस्थिति थियो ।


सम्झौता कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले गैंडाकोट फरक जिल्ला भएपनि स्वास्थ्यको विशेषज्ञ र अतिविशिष्टिकृत सेवा लिन चितवन आउनु पर्ने भन्दै सम्झौताले गैंडाकोटवासीलाई लाभ मिल्ने बताउनुभयो ।


प्रमुख प्रशासकीय अधिकृत खनालले नगरपालिकाले नगरवासीको स्वास्थ्यउपचारलाई विशेष महत्व दिएर यो सम्झौता गरेको बताउनुभयो । यो सुविधाले विपन्नसँगै सम्पूर्ण नगरवासीले लाभ लिन सक्ने उहाँको भनाई छ । अतिविशिष्टिकृत सेवा लिन गैंडाकोटवासी अन्यत्र भौतारिन नपर्ने बताउँदै उहाँले नगरवासीको उपचारमा थप समन्वय गरिने बताउनुभयो ।


सिएमसीका निर्देशक प्रशासक देवकोटाले सम्झौताले दुई संस्थाको सम्बन्धलाई अझ मजबुद बनाएको भन्दै सिएमसीले दिएको छुट सुविधाको उपभोग गर्न गैंडाकोटवासीलाई आग्रह गर्नुभयो ।