चितवन राइनोजले जर्सी र मस्कट सार्वजनिक गर्यो

२०८१ मङ्सिर ४ मंगलबार ०६:०२:०० मा प्रकाशित


चितवन । नेपाल प्रिमियर लिगको प्रतिस्पर्धी टिम चितवन राइनोजले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले सोमबार साँझ भरतपुरमा एक कार्यक्रमका बीच जर्सीसहित मस्कट र टिम एन्थम सार्वजनिक गर्नुभएको छ । जर्सी सार्वजनिक गर्दै महानगर प्रमुख दाहालले चितवनको गरिमा बढ्ने गरि निर्धक्क सँग खेल खेल्न शुभकामना दिनुभएको छ ।

नेपाली क्रिकेटका लागि चितवन राइनोजले प्रमोशनको काम गरेको भन्दै यसको महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  मेयर दाहालले चितवन र भरतपुरले खेलकुदमा उल्लेख्य प्रगति गरेको समेत बताउनुभएको छ । 

चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले स्थानीय र क्षेत्रीय तहको क्रिकेटलाई उकास्न एनपीएलले राम्रो वातावरण बनाउने बताउनुभएको छ ।  टोलीमा बलिया र जुझारु खेलाडी भएका कारण हामी उपाधि जित्नेमा विश्वस्त रहेको बताउनुभएको छ । 

खेलाडी कुशल मल्लले आफ्नो टिम जित्नका लागि राम्रो नतिजा निकाल्ने आशा राखेको बताउँदै सपोट गर्न आग्रह समेत गर्नुभएको छ । चितवनमा सन् १९९४ मा गठित चितवन राइनो क्रिकेट क्लबबाट प्रभावित भएर चितवन राइनोज गठन गरेको अध्यक्ष आयूस न्यौपानेले बताउनुभएको छ ।

चितवन राइनोजका तत्कालिन कप्तान मनिष सापकोटा र अन्य खेलाडिलाई चितवन राइनोजको जर्सी उपलब्ध गराउनुका साथै राइनो क्लबले त्यो समयमा खेल्ने गरेको पुरानो ब्याट चितवन राइनोजलाई उपहार दिएको थियो ।