तिहार अन्तर्गत आज कुकुर तिहार मनाइदै,साझ घरघरमा लक्ष्मी पुजा गरिदै
नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवान को पूजा अर्चना गरी मनाइँदैछ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री–सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ ।
आजको साँझ विभिन्न रङ्गहरू प्रयोग गर्दै आँगनमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चे, चारकुने, त्रिभुजाकार स्वरूपमा तयार पारिन्छ ।
अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान् पृथ्वी लोकमा आउने र आशिष् दिएर जाने जनउक्ति पनि छ, त्यसै कारणले आज घर अगाडीको तुलसी मोठ या आँगनको प्रवेशद्वारबाटै लक्ष्मीका पाइलारूपी रङ्गिन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यी नै पाइलाका छाप अनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास पनि छ ।
कुकुर तिहार
तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा–मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं
वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।
नरक चतुर्दशी
आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालेर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।
यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत रहेको आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन् । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ ।
लक्ष्मी जयन्ती
आजको दिन नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन हो । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा जन्म भएको हो ।
नेपाली साहित्य अनि वाङमयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ । वहाँका अमर कृतीहरुः मुना–मदन, कुञ्जीनि, शाकुन्तलजस्ता कृतीहरूले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन् ।