साफ च्याम्पियनसिप महिला फुटबलको फाइनल आज साँझ

२०८१ कार्तिक १४ बुधबार १७:४९:०० मा प्रकाशित


काठमाण्डौँ । नेपाल र बंगलादेशबीच हुने साफ च्याम्पियनसिप महिला फुटबलको फाइनल खेलको टिकट सबै बिक्री भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज १० हजार २ सय वटा मात्र टिकट विक्रि गरिएको जनाएको छ । सेमिफाइनलमा क्षमताभन्दा धेरै टिकट विक्री गरेको भन्दै एन्फाले टिकट विक्रिको सम्झौता गरेको कम्पनीलाई नदिएर आफैँ भौतिक रुपमा टिकट विक्रि गरेको थियो ।

एन्फाले आज साधारणतर्फ ५ हजार १ सय टिकट बेचेको छ । त्यस्तै माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले खल्तीबाट बेचिसकेका ४ हजार १ सय १७ टिकट पनि एन्फाले उपलब्ध गराएको छ । माउन्ट एभरेस्टसँग सम्झौता रद्द हुनुअघि नै टिकट बिक्री भएकाले उक्त संख्यामा टिकट उपलब्ध गराइएको एन्फाले जनाएको छ । त्यस्तै भीआईपी प्यारापिटतर्फ १ हजार टिकट बिक्री गरेको एन्फाले जनाएको छ । सुरक्षाका कारण २० प्रतिशत सिट खाली राखिएको एन्फाले जनाएको छ ।

टिकट पाउने आशमा दर्शक बिहानैदेखि लाइनमा बसे पनि सबैले टिकट भने पाएनन् । साधारणतर्फको टिकटको ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिएको छ । बेलुकी साढे ६ बजेपछि दशरथ रङ्गशालामा सुरु हुने खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने कार्यक्रम छ । यसअघि प्रतियोतिाका ५ वटा फाइनल खेलेको नेपालले उपाधि भने जित्न सकेको छैन ।

यसैबिच, नेपालले सेमिफाइनल खेलेको टोलीमा १ परिवर्तन गरेको छ । भारतसँगको खेलमा रातो कार्ड पाएकी रेखा पौडेलको ठाँउमा सरु लिम्बुलाई पहिलो रोजाईमा राखिएको छ । बाँकी खेलाडीमा कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासहित पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सावित्रा भण्डारी साम्बा, गिता राना, प्रिती राई, सविता राना मगर र अमिषा कार्की रहेका छन् ।