देवघाटधाममा गरियो पत्रकार क्षेत्रीको अन्त्येष्टि
गैँडाकोट । सामुदायिक रेडियो विजय एफएम १०१।६ का सहायक स्टेशन म्यानेजर तथा विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेमबहादुर क्षेत्रीको आइतबार अन्त्येष्टि गरिएको छ ।
पत्रकार क्षेत्रीको पार्थिव शरिरको आइतबार विहान देवघाटधाममा अन्त्येष्टी गरिएको हो । पत्रकार क्षेत्रीको माडी नगरपालिका वाड नं १ मा रहेको निवासमा परिवारजनले हिन्दुसंस्कार अनुसार काजक्रिया हुने पारिवारिक स्रोतले जनाएको छ ।
पत्रकार क्षेत्रीको हृदयघातका कारण अकल्पनीय निधन भएको हो । शनिबार राती साढे ९ बजे पश्चात मुटु दुखेपछि उहाँलाई अस्पताल लगिएको थियो । उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा उहाँको निधन भएको हो ।
पत्रकार क्षेत्रीको श्रीमती र एक छोरी हुनुहुन्छ । स्नातकसम्मको अध्ययन गर्नुभएको पत्रकार क्षेत्री विगत १७ वर्षदेखि सामुदायिक रेडियो विजय एफएममा क्रियाशील रहनुभएको थियो । पत्रकार क्षेत्रीले स्थानीय विकास र सुशासन, शिक्षा, स्वास्थ्य, वित्तिय सचेतना, वातावरण संरक्षण लगायतका विषयमा लेख्दैबोल्दै आउनुभएको थियो ।
देवघाटमा अन्त्येष्टि भएपश्चात् स्व पत्रकार क्षेत्रीको सम्मानमा सामुदायिक रेडियो विजय एफएम १०१.६ ले १ घण्टा रेडियोमा शोक धुन प्रसारण गरेको थियो । पत्रकार क्षेत्रीको निधनले सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिकामा अपुरणीय क्षती पुगेको रेडियोका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभयो ।
पत्रकार क्षेत्रीप्रति श्रद्धाञ्जलीका लागि माडी पुग्न असमर्थ श्रोता तथा पाठकवर्गलाई लक्षित गर्दै रेडियोको परिसरमा शोकपुस्तीका राखिएको छ । पाँचौ दिनमा शोकपुस्तिका परिवारजनमा हस्तान्तरण गरिने विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभयो ।
पत्रकार क्षेत्रीको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै पत्रकार महासंघ चितवन, पत्रकार महासंघ नवलपुर, प्रेस सेन्टर नेपाल, विजय परिवार, गैँडाकोट ईंग्लीस स्कुल, सरस्वती निकेतन ईं।बोर्डिङ स्कुल लगायतका संघसंस्थाले शोक वक्तव्य जारी गरेका छन् ।