दशैं मनाउन गाउँघर पुगेका फर्किन थाले : आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाईंदै
काठमाण्डौ – दशैँका लागि गाउँघर पुगेका फर्किनेक्रम शुरु भएको छ । आजदेखि दशैँको बिदा सकिने र भोलिदेखि सरकारी कार्यालय तथा अन्य निकाय खुल्ने भएकाले पनि गाउँघर गएका धेरैजसो फर्किन थालेका हुन् । यसले गर्दा काठमाण्डौसँग जोडिएका मुख्य नाकामा यात्रु र गाडीको चाप हुन थालेको छ । तर यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर रहेको यात्रुको गुनासो छ ।
गएको असोज १०, ११ र १२ गतेको बाढी/पहिरोले सबैजसो राजमार्ग र सडकखण्ड प्रभावित भएकोमा आवश्यक मर्मत गरी सञ्चालनमा आएका छन् । तर यी सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रामा सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गर्दै आएका छन् ।
यसैबीच आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ । अस्ति विजयादशमीका दिनदेखि शुरु भएको टीका, जमरा लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म नै जारी रहन्छ ।
काठमाण्डौको असनका बासिन्दाले हिजो विजयादशमीको टीका लगाएका छन् भने पश्चिमी क्षेत्रका केही जिल्लामा भने विजयादशमीको दिन मात्रै टीका लगाउने चलन छ ।